काठमाडौं। पछिल्लो दुई सातामा काठमाडौंका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएको छ। उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले खाल्डाखुल्डी हटाउन निर्देशन दिएका कारण ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत भएका हुन्।
भाैतिकमन्त्री श्रेष्ठले सडकमा संरचना रहेका निकायका प्रतिनिधिसहित बैठक गरेर दुई सातामा खाल्डाखुल्डी हटाउन लाग्न निर्देशन दिएका थिए।मन्त्री श्रेष्ठसँगै सम्बन्धित निकायका प्रतिनिधिहरुले उपत्यकाका विभिन्न सडकको स्थलगत अवलोकनसमेत गरेका थिए।
शुक्रबार मन्त्रालयमा सडकसँग सम्बन्धित आठ निकायहरूकाे संयुक्त बैठकमा बसेकाे छ। बैठक काठमाडौ महानगर पालिकाको मेयर बालेन शाह, ललितपुर महानगरपालिकाकी मन्जली शाक्य बर्जर्चायलगाएत नेपाल टेलिकम,मेलम्ची खानेपानी आयोजना, नेपाल विद्युत प्राधिकरण र काठमाडौं उपत्यका खानेपनी लिमिटेडका प्रमुखसमेतको सहभागिता थियो।
आजको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका विभिन्न निकायले आ-आफ्नो काम गरिरहेको भए पनि एकीकृत स्वरुपमा समन्वयत्मक ढंगले काम गर्न आवश्यक रहेको औंल्याए। विकास निर्माणका काम गुणस्तरिय रुपमा सम्पन्न गर्नपर्ने उनको भनाइ छ। कुनै पनि ठाउँमा समस्या देखिदा सम्बन्धित निकायले नागरिकप्रतिको आ-आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्दछ उनले भने, 'एकले अर्कोले दोष दिएरभन्दा जनताले राम्रो सेवा पाउन भनी काम गर्न छलफल सुरू गरिएको छ।'
एउटै ठाउँमा काम गर्ने निकायहरुले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड छ। उनले मन्त्रलयलका तर्फबाट गर्नुपर्ने समन्वय वा कुनै पनि किसिमको सहयोग महानगरपालिका वा अरु निकायलाई आवश्यक पर्दा गर्न पनि निर्देशन दिए। उनले भने, 'सबै निकायले आ-आफ्नो जिम्मेवारी इमान्दारीतापूर्वक पालना गर्नुपर्छ।'
प्राधिकरणले बत्ती बालेर जनता खुसी भए पनि उसका संरचनाका कारण सडकमा समस्या आएको भनी गुनासो आइरहेको उनले बताए। प्राधिकरणले उच्चस्तरको बैठक गरेर समस्या समाधान गर्न लाग्नुपर्ने उनले बताए। सडकमा रहेका संरचनाले सडकमा पुगेको अवरोधका बिषयमा आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग कुराकानी भइरहेको उनले जानकारी दिए।
सडकमा रहेका खाल्डाखुल्डी हटाउन र समन्वयमा रहेको समस्या हटाउने उद्देश्यले अहिले दुई सातामा एक पटक बैठक बस्ने गरिएकामा आगामी दिनमा आवश्यकताअनुसार एक दुई महिनामा बस्न सक्ने उनले बताए।
काठमाडौं उपत्यकाका सडकमा संरचना रहेका निकायबीच समन्वय गरी सडक सुधार गर्ने गरी काठमाडौं संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सुपरिटेन्डेन्ट इञ्जिनियर डा. विजय जैशीको संयोजकत्वमा आठ सदस्यीय स्थायी सम्यन्त्र गठन गरेको छ।
विभिन्न आठ प्रतिनिधि सदस्य रहने निकायहरुमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल विद्युत प्राधिकरण र काठमाडौं उपत्यका खानेपनी लिमिटेड रहेका छ्न।
आजको बैठकले तीनकुनेस्थित बागमती पुल र बिजुलीबजारस्थित धोबीखोलाको पुल मुनिबाट करिडोर चालू गर्ने निर्णय गरेको छ। नेपाल विद्युत प्राधिकरणबाट सञ्चालित आयोजनाहरूको निर्माणस्थलमा प्राधिकरण र सडक विभागबीच भएको समझदारीअनुसार क्षति पुगेको खण्डमा अस्थायी वा स्थायी खण्डको पुनःस्थापना गर्ने पनि निर्णय भएको छ।