काठमाडौं। राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन आयोजनाको बाँध र विद्युतगृह निर्माणको ठेक्का सम्झौता भएको छ। डाइभर्सन आयोजना र रमण/पटेल जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
आयोजनाका सूचना अधिकारी रवि शाक्यका अनुसार पुस १७ मा सम्झौता भएको हो। उनका अनुसार साढे १२ अर्ब रुपैयाँमा नेपालको रमण कन्स्ट्रक्सन र भारतको पटेल इन्जिनियरिङको संयुक्त उपक्रम (जेभी) ले बाँध र विद्युतगृह निर्माणको जिम्मेवारी पाएको हो।
आयोजनाले दसैंअघि बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमा नौ कम्पनीले बाँध र विद्युतगृह निर्माणमा चासो देखाए पनि आर्थिक र प्राविधिकरूपमा सबैभन्दा उपयुक्त रमण/पटेल जेभीसँग ठेक्का सम्झौता गरिएको आयोजनाको भनाइ छ। गत मंसिर १२ मा आयोजनाले रमण÷पटेल जेभीसँग ठेक्का सम्झौता गर्न लागिएको आशयपत्र (एलओआई) सार्वजनिक गरेको थियो। सोही आशयपत्र अनुसार पुस १७ मा सम्झौता भएको थियो।
संरचना निर्माण गर्न आयोजनाले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १८ अर्ब र भ्याटसहित २० अर्ब रुपैयाँ लागत अनुमान गरेको थियो। तर, निर्माण कम्पनीले साढे १२ अर्ब रुपैयाँमा बनाउने प्रस्ताव गरेको हो। सूचना अधिकारी शाक्यका अनुसार सम्झौता भएको मितिले ४ वर्ष ७ महिनामा डाइभर्सनको बाँध र विद्युतगृह निर्माण सम्पन्न हुनेछन्। जसअनुसार २०८४ भदौमा सबै निर्माण पूरा हुनेछ।
म्यादअघि नै सुरुङ सम्पन्न हुने
सुनकोसीको पानी सुरुङमार्फत तराईमा लगेर सिँचाइ सुविधा उपलब्ध गराउने योजनास्वरूप आयोजना निर्माण सुरु भएको हो। जसअनुसार १३ किलोमिटर लामो सुरुङमार्ग ‘टनेल बोरिङ मेसिन’ (टिबिएम) बाट खन्ने काम भइरहेको छ। डाइभर्सनमा गत असोज २८ बाट टिबिएम प्रयोग गरेर सुरुङ खन्न थालिएको हो।
माघ १३ सम्म २ हजार ४ सय ६७ मिटर सुरूङ खनिसकिएको सूचना अधिकारी शाक्यले जानकारी दिए। ‘अहिलेसम्मको कामको गति हेर्दा निर्धारित समयभन्दा पहिला सकिने सम्भावना देखिन्छ। तर, अझै पनि काम र समय बाँकी रहेकाले छिट्टै सकिन्छ भन्ने निश्चित छैन,’ उनले भने।
आयोजनाको सुरुङ खन्ने जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले पाएको छ। २०७७ फागुनमा भएको सम्झौताअनुसार सुनकोसी–मरिणको १३ किलोमिटर लामो सुरूङ खन्न १० अर्ब रुपैयाँ लाग्ने छ। कोभेकले २२ महिनामा सुरुङ खन्ने लक्ष्य लिएको छ।
बाँध, सिँचाइ र विद्युत उत्पादन संरचनासमेत गरी आयोजनाको कूल लागत ४६ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान छ। सुरुङ खन्ने काम २२ महिनामा सकिए पनि समग्र आयोजनाको म्याद भने आर्थिक वर्ष २०८२/८३ सम्म छ। आयोजनाको मुख्य सुरुङ सुनकोसी र तामाकोसी नदी संगमस्थलबाट ९ सय मिटर सिन्धुलीको खुर्कोटतर्फ रहने छ। जहाँ १२ मिटर उचाइको बाँध निर्माण हुनेछ।
चालू आर्थिक वर्ष २०७९÷८० का लागि २ अर्ब ७१ करोड बजेट प्राप्त भएको छ। आयोजनाको पुस मसान्तसम्मको समग्र भौतिक प्रगति १२ प्रतिशत र वित्तीय प्रगति १२.६९ प्रतिशत भएको सूचना अधिकारी शाक्यले जानकारी दिए।
२०७७ फागुन २० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना शिलान्यास गरेका थिए। सुनकोसी र तामाकोसीको पानीलाई १३ किलोमिटर लामो सुरूङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ।
त्यस्तै सोही आयोजनामा ६६ मिटर उचाइबाट पानी खसालेर ३१ मेगावाट विद्युत उत्पादन गर्ने योजना पनि छ। सिन्धुली र रामेछापमा निर्माण हुने उक्त आयोजनाले बागमती र मधेस प्रदेशलाई जोड्ने छ। आयोजनमा निर्माण हुने सुरुङको चौडाइ पाँच मिटर हुनेछ।
डाइभर्सनले मात्रै तराईको ७७ हजार हेक्टर जमिनमा थप सिँचाइ पुग्ने छ। यसअघि नै बागमती सिँचाइ आयोजनाले तराईको ४५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याइसकेको छ।
बागमती सिँचाइ आयोजना र सुनकोसी–मरिण डाइभर्सन आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने छ। आयोजनामा बाँध, सुरूङ, विद्युतगृह र नहरका संरचना बनाउन विभिन्न प्याकेजमा बोलपत्र आह्वान भएका छन्।
रमण नेपालको ‘क’ वर्गको निर्माण कम्पनी हो। यस्तै पटेलले पनि भारतमा ठूला पूर्वाधार निर्माण गरिसकेको छ।