काठमाडाैं। दुई जना व्यवसायीको असामयिक निधनपछि पूर्वका आर्थिक क्षेत्रका संघसंस्था मर्माहत भएका छन्। गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका थिए। उनको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा बुधबार बिहान निधन भएको थियो।
आचार्यको निधन लगत्तै बुधबार नै विराटनगरका विद्युतीय सामग्रीको व्यवसाय गर्ने मोहन न्यौपानेले विराटनगर–३ स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे। दुवै घटनामा वित्तीय दबाब प्रमुख देखिएको थियो। मोरङ व्यापार संघका उपाध्यक्ष विकासकुमार बेगवानीले मुलुकमा आर्थिक सूचकांक सकारात्मक नरहेको अवस्थामा राज्य अलि बढी संवेदनशील बन्नुपर्ने बताए।
उनले आर्थिक क्षेत्रमा सुधारका ठाउँ प्रशस्तै रहेकाले राज्यले सुधारका कदम तत्कालै उठाउनुपर्ने बताए। संघका अध्यक्ष नवीन रिजालले बढ्दो बैंकको ब्याजदर र प्रतिकुल आर्थिक नीतिका कारण व्यवसाय धरासायी बन्दै गएको बताए। उनले आफूले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर व्यवसायीको माग सम्बोधन गर्न अनुरोध गरेको बताए।
उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले आइपर्ने परिस्थितिबाट भाग्नुको साटो समस्या समाधनतर्फ उन्मुख रहन जरूरी रहेको बताए। उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि संघ संस्थाको स्थापना भएको भन्दै समस्या पर्दा उद्योग व्यवसायीले यस्ता संघ संस्थासँग छलफल र परामर्श लिनुपर्ने उनकाे भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेले आर्थिक क्षेत्रलाई चुस्त दुरूस्त बनाउन राज्यले निजी क्षेत्रको समन्वयमा कार्य गर्नुपर्ने बताए। अध्यक्ष घिमिरेले दुई दिनको अन्तरालमा परस्पर दुई दुःखदायी घट्ना घटेको भन्दै व्यवसायीप्रति राज्यले न्याय गर्नुपर्ने बताए।
उद्योग संगठन मोरङले बिहीबार अपिल जारी गर्दै यस खाले दुःखद् र मार्मिक घटनाले भित्री अन्तरवस्तु र पीडालाई उजागर गरेकाले आगामी दिनमा दोहरिन नदिन नियमनकारी निकायले उद्योगी व्यवसायीहरुको उचित गुनासो, पिरमार्का, समस्यालाई गम्भिरतापूर्वक सुनेर समयमा नै सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ।