काठमाडौं। एक महिनाअघि नेपालमै गाडी ‘एसेम्बल प्लान्ट’ राख्ने घोषणा गरेको लगानी बोर्डमा यसबारे अहिलेसम्म छलफल पनि हुन सकेको छैन।
बोर्डको योजना टुंगोमा नपुग्दा अन्यौल उत्पन्न भएको छ। तीन वर्षभित्र उद्योग सञ्चालन गरी पाँच वर्षमा २० हजार गाडी उत्पादन गर्ने लक्ष्यसाथ कोरियाली कम्पनी मोट्रेक्स र लगानी बोर्डबीच २०७६ मंसिर २५ मा सम्झौता भएको थियो। तर, एसेम्बल प्लान्ट खोल्ने सम्झौता भएको तीन वर्ष बित्दा पनि योजना अगाडि बढाउने विषय टुंगिन सकेको छैन।
लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले दुई पक्षबीच छलफल हुन नसक्दा गाडी एसेम्बल प्लान्टबारे टुंगो लाग्न नसकेको बताए।
‘एक महिना अगाडि केही दिनमा टुंगिन्छ भन्ने हामीलाई लागेको थियो। सोहीअनुसार कुरा पनि भएको हो,’ सहप्रवक्ता अधिकारीले क्यापिटल नेपालसँग भने, ‘तर, त्यसपछि नयाँ सरकार बन्यो, सरकार बनेपछि विश्वासको मत यताउता भनेर समय गयो। अब बोर्ड बैठक बस्ने बेलासम्ममा केही टुंगोमा पुग्छ कि भन्ने छ।’
उनका अनुसार योजना अगाडि बढाउन कठिन हुने त्यस्ता खास विषय छैनन्। दुई पक्ष बसेर छलफल गरे सबै विषय सजिलै टुंगिनेछन्।
‘हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) को विषय नै टुंगिन बाँकी छ,’ अधिकारीले भने, ‘यो विषयमा नै कुरा टुंगिन बाँकी छ भनेर खुलाउँदा हुन लागेको सहमतिमा थप असर पुग्न सक्छ। त्यसैले यो विषय टुंगिएपछि हामी खुलाउँला।’
उनले अहिलेको मुख्य विषय वार्ता रहेको बताए। दुई पक्ष बसेर छलफल गरेको आठदेखि १० दिनमा असहमतिका विषय टुंगिने उनको भनाइ छ।
‘ठ्याक्कै यति सयममा टुंगिन्छ भन्ने यकिन नभए पनि अब छिट्टै यो विषय टुंगोमा पुग्छ,’ उनले भने।
करिब एक महिनाअघि सहप्रवक्ता अधिकारीले क्यापिटल नेपालसँगको कुराकानीमा पनि दुई पक्षबीचको वार्ता टुंगिएर उत्पादनका काम केही दिनमा नै सुरु हुने दाबी गरेका थिए।
अधिकारीका अनुसार उद्योगका लागि मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा उपलब्ध गराउने सहमति भएको छ भने मोट्रेक्स कम्पनीले माग गर्दै आएको कर छुटको विषय भने अझै टुंगिएको छैन।
यी विभिन्न विषयमा सहमति गर्दै लगानी बोर्डले मोट्रेक्स कम्पनीको प्रस्ताव स्वीकृत गरेपछि उद्योग स्थापना र गाडी उत्पादनको काम अगाडि बढ्ने छ। अब छिट्टै बोर्ड बैठक बस्ने भएकाले त्यहीबेला यो विषय टुंगिने उनको भनाइ छ।
२०७५ सालमै गाडी उत्पादन गर्ने भन्दै मोट्रेक्सले आवेदन दिएपछि त्यसको एक वर्षपछि मोट्रेक्स र लगानी बोर्डबीच सम्झौता भएको थियो। सुरुमा सम्झौता गर्दा रुपन्देही मोतीपुर औद्यागिक क्षेत्रमा नै प्लान्ट राख्ने र यसका लागि कम्पनीले १ सय बिघा जग्गा पाउने जनाइएको थियो।
त्यस्तै उद्योग स्थापनाका लागि बुटवल औद्योगिक क्षेत्रभित्र रहेको बुटवल धागो कारखानाको जग्गा दिने विषयमा पनि चर्चा भएको थियो। तर, उद्योगमा रहेका पुराना मेसिन प्रतिस्थापन गर्न झन्झटिलो भएका कारण यो स्थान छनौटमा परेको थिएन। हाल मोतीपुरमा नै उद्योग स्थापना हुने निश्चित भएको छ।
चारपांग्रे गाडी उत्पादन गर्न कम्पनीले न्यूनतम १५ अर्ब रुपैयाँ खर्च गर्ने जनाइएको थियो। बोर्ड बैठकले गाडी उत्पादन प्लान्ट राख्न १० अर्ब रुपैयाँबराबर लगानी स्वीकृत गरिसकेको छ। सम्झौता भएको लामो समयसम्म कोरोना महामारीका कारण योजना अगाडि बढ्न सकेन।
लगानी बोर्डले पनि कोरोना महामारीका कारण योजना सम्पन्न भइसक्ने समयसम्म पनि अगाडि बढ्न नसकेको प्रतिक्रिया दिँदै बस्यो।
तर, कोरोना महामारी सामान्य अवस्थामा फर्किएपछि योजना अघि बढाउने प्रयास भए पनि योजनाले भने गति लिन सकेको छैन।
सम्झौतापछि मोट्रेक्स र लगानी बोर्डबीच उक्त योजना अगाडि बढाउन पटक–पटक वार्ता भए पनि टुंगोमा पुगेको थिएन। तर, पछिल्लोपटक नेपालमा भएको निर्वाचन, नयाँ सरकार गठनलगायत विषयले यो विषय प्राथमिकतामा पर्न नसक्दा नटुंगिएको बताइएको छ।
नेपालमा उद्योग स्थापना गरेर नेपालमै गाडी उत्पादन गर्दा रोजगारी सिर्जना हुने र आर्थिकरूपमा पनि देशलाई फाइदा हुने भएकाले यस उद्योगलाई अगाडि बढाउनुपर्नेमा धेरैले जोड दिँदै आएका छन्।
तर, दुई पक्षबीच निरन्तर वार्ता र छलफल तथा पहलकदमी अभावका कारण उद्योग सञ्चालनका मिति बारम्बार पछाडि धकेलिँदै आएको छ।
नयाँ सरकार र नयाँ प्रधानमन्त्री आएपछि यस विषयमा केही न केही कदम चाल्ने भने पनि बोर्डले हालसम्म टुंगो लगाउन सकेको छैन।