काठमाडौं। निर्माणाधीन राष्ट्रिय महत्वको धरहरा उद्घाटन भएको २१ महिनापछि पाँचौंपटक म्याद थप भएको छ। २०७५ वैशाख १२ मा शिलान्यास भएको धरहराको हालसम्म ८२ प्रतिशतमात्रै भौतिक प्रगति भएपछि पाँचौपटक म्याद थप भएको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत ईकाइ आयोजना कार्यालयले जनाएको छ।
७० प्रतिशत काम सकिँदा २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेर छिट्टै सर्वसाधारणका लागि खुला गर्ने घोषणा गरेका थिए। तर, उद्घाटन भएको २१ महिना बढी हुँदा धरहरा अवलोकन गर्न पाउनु त परको कुरा निर्माण पूरा हुने समय तय हुन सकेको छैन।
निर्माण कम्पनी भने पूर्वप्रधानमन्त्री ओलीले हतारमा ७० प्रतिशतमात्रै काम हुँदा धरहरा उद्घाटन गरेर जनतामा भ्रम छरेको बताउँछ। कोरोना संक्रमण, कन्स्ट्रक्सन होलिडे, स्थानीयको अवरोध, सम्झौताभन्दा पछि जिम्मेवारी थपिँदै जानुलगायत कारण काम गर्न समस्या भएको कम्पनी जिआइटिसी/रमण जेभीले बताउँदै आएका छन्।
चौथोपटक २०८० वैशाखमा थपिएको म्याद पुस मसान्तमा सकिएपछि पाँचौंपटक २०८१ असार मसान्तसम्म म्याद थप्न लागिएको भवन विभागका ईकाइ आयोजना प्रमुख कोषनाथ अधिकारीले बताए। उनका अनुसार म्याद थप प्रक्रियाअघि बढे पनि कागजी प्रक्रिया बाँकी छ।
‘निर्माण व्यवसायीले पत्र पठाइसकेको छ। असार मसान्तसम्म म्याद थप्ने तयारी गरेका छौं। तर, निर्माण कहिले सम्पन्न हुन्छ भन्न सक्ने अवस्था अहिले छैन,’ अधिकारीले भने। धरहरा निर्माण कार्य चिनियाँ कम्पनी जिआइटिसी/रमण जेभीले गर्दै आएका छन्। चौथोपटक थपिएको म्याद पुसमसान्तमा सकिएपछि निर्माण कम्पनीले फेरि म्याद थप गर्न भवन विभागमा पत्र पठाएको छ।
पुस मसान्तमा म्याद सकिएको धरहराको हालसम्म ८२ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ। त्यस्तै वित्तीय प्रगति ७० प्रतिशत भएको रमण कन्स्ट्रक्सनका आयोजना प्रबन्धक सञ्जय नकर्मी बताउँछन्। उनका अनुसार निर्माण कम्पनीले म्याद असारभन्दा परको मागेको छ। ‘हामीले म्याद थप्नुपर्यो भनेर पत्र पठाएका छौं, कति समय मागेका छौं त्यो हाम्रो कुरा भयो। तर, असारसम्म म्याद थपियो भने काम गर्दै गर्न सकिन्छ,’ नकर्मीले भने।
तै पनि सर्वसाधारणका लागि धरहरा खुला गर्ने वा आयोजनाकै निर्माण पूरा हुने मिति भने सरकार र निर्माण व्यवसायी दुवैले बताउन सकेका छैनन्।
किन ढिलो भइरहेको छ काम?
ईकाइ आयोजना प्रमुख अधिकारीका अनुसार निर्माण सम्झौताबमोजिम सुरुमा गर्ने भनिएका कामभन्दा निर्माण कम्पनीलाई क्रमशः जिम्मेवारी बढ्दे गएको छ। सोही करण म्याद थप्नुपर्ने बाध्यता भएको हो। निर्माण व्यवसायीले पनि काम गर्दा गल्ती गरेका कारण स्थानीयले आयोजना सञ्चालनमा अवरोध गर्दै आएका छन्।
केही समयअघि धरहरा निर्माणस्थलमा काम गर्दा सय वर्ष पुरानो डुँड व्यवसायीले भत्काएपछि स्थानीयले काममा अवरोध गर्दै आएका छन्। पछिल्लो समय क्रसर बन्दको असरले पनि निर्माणमा ढिलाइ भइरहेको छ।
‘पाँच रोपनी जग्गाबाट धरहरा निर्माण सुरु भएको थियो, अहिले ४२ रोपनीमा काम गर्नुपरेको छ,’ ईकाइ प्रमुख अधिकारीले भने, ‘त्यसभित्र पनि सञ्चयकोषको १८ आना जग्गा निर्माणाधीन धरहराभित्र परेकाले फेरि विवाद सुरु भएको छ, यो समाधान नभई कामले तीव्रता पाउँदैन।’
हाल सञ्चयकोषले उक्त जग्गा फिर्ता मागेको छ। तर, धरहराभित्र पर्ने जग्गा फिर्ता गर्न नमिल्ने भएकाले सञ्चयकोषलाई १८ आना जग्गाको मूल्यांकन गरेर पैसा दिने योजनामा भवन विभाग छ। तर, उक्त जग्गाको मूल्यांकन विभागले नापी विभागलाई सोधेपछि मात्रै थाहा हुनेछ।
त्यस्तै निर्माण सुरु गर्दा सुन्धाराको पानी प्राकृतिकरूपमा धरहरामा ल्याउने योजना थिएन। तर, स्थानीयले प्राकृतिकरूपमा पानी ल्याउने र त्यसको निकासी पनि प्राकृतिकरूपमा नै हुनुपर्ने माग राख्ने निर्माणमा अवरोध गर्दै आएका छन्। त्यसबाहेक मन्दिर तथा पाटी पनि निर्माण गर्ने योजनामा थिएन। तर, निर्माण सुरु भएपछि त्यो काम पनि थपिएको छ। जसले गर्दा निर्माण कार्यमा ढिलाइ भइरहेको छ।
३ अर्ब ८ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने जिम्मेवारी रमण कन्स्ट्रक्सनको छ। पूर्वप्रधामन्त्री ओलीले २०७२ फागुन ४ मा ‘म बनाउँछु, मेरो धरहरा’ अभियान सुरू गरेका थिए। उक्त अभियानअन्तर्गत २४ करोड रूपैयाँ संकलन भएको थियो।
पहिलोपटक प्रधानमन्त्री हुँदा उक्त अभियान चलाएका ओलीले दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७५ वैशाख १२ मा धरहरा पुनर्निमार्ण शिलान्यास गरेका थिए। ओलीले नै २०७८ वैशाख ११ मा ७० प्रतिशत निर्माण सकिएको धरहरा उद्घाटन गरेका थिए।
उद्घाटन समयमा १० महिनापछि २०७८ माघबाट सर्वसाधारणले धरहरा चढ्न पाउने बताइएको थियो। तर, उद्घाटनको दुई वर्ष हुन लाग्दा र धरहरा ढलेको सात वर्ष बितिसक्दा पनि पुनर्निर्माण पूरा हुन सकेको छैन।
निर्माणमा संलग्न इन्जिनियरहरूका अनुसार पुनर्निर्मित धरहराले १० रिक्टर स्केलसम्मको भूकम्पको धक्का थेग्न सक्छ। बाहिरबाट हेर्दा धरहरा ११ तलाको देखिने र भित्रबाट भने २२ तलाको छ। यसमा चारवटा लिफ्ट प्रयोग गरेर धरहरा चढ्न पाइने छ। धरहरा २०७२ को विनाशकारी भूकम्पले ढलाएको थियो।