काठमाडौं। काठमाडौंको भृकुटीमण्डपस्थित माघ २४ गतेदेखि प्रदर्शनी हलमा हुने क्यान इन्फोटेक मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) को आयोजनामा हुने २८औं संस्करणको क्यान इन्फोटेकको सम्पूर्ण तयारी पूरा भएको महासंघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
महासंघले मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३को टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससिटी) रहेको जानकारी दिए। प्रायोजक कम्पनीका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससिटी’ राखिएको छ।
प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने बताइएको छ। यो प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने विश्वास गरिएको छ।
क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अवसर दिनेछ।
क्यान इन्फोटेकमा अवलोकनर्ताले देश/विदेशका सफ्टवेयर नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने छन्।
साथै ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी पनि प्रदर्शनीमा उपलब्ध हुनेछन्।
त्यसैगरी आइओटी, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स, वैकल्पिक ऊर्जा प्रविधिको जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन्।
प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इनोभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ। महासंघकाअनुसार यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकट खरिद गर्न सकिने छ। यसअन्तर्गत सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रूपैयाँ शुल्क तोकिएको महासंघले जनाएको छ।
साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने क्यानले जानकारी दिएको छ। क्यान इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ।
क्यान इन्फोटेक २०२३ का लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको महासंघले जनाएको छ। यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरेको महासंघले उल्लेख गरेको छ। माघ २४ देखि ६ दिनको इन्फोटेक समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने क्यानले जानकारी दिएको छ।
यसअन्तर्गत मधेश प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुने महासंघले जनाएको छ। प्रदेश १. कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा गरिने बताइएको छ।