काठमाडौं। उदयपुरका सुस्मा राना र अशोकप्रसाद चौधरीको दम्पतीले विगत तीन वर्षदेखि अण्डाबाट चल्ला कोरल्ने मेसिन बिक्री गर्दै आएको छ। याे दम्पतीले 'अबिराम एग्रोटेक' मार्फत मेसिन बिक्री गर्दै आएकाे हाे।
यो मेसिन सामान्य किसानले सजिलै र सरल तरिकाले व्यावसायिक उत्पादन लिन सक्ने किसिमको छ। यो गाउँदेखि सहरसम्म, उपभोक्ताको मागअनुसार उनीहरूले उपलब्ध गराउँछन्।
अशोकप्रसाद चौधरीले विकास गरेको यो मेसिन लकडाउनको समय सदुपयोग गरेर बनाएका हुन्। कीर्तिपुरमा बसेर पढ्दै गरेका उनको एक दिन युट्ब हेर्दै गर्दा चल्ला काढ्ने मेसिन अर्थात् ‘इन्क्युबेटर’ मा आँखा पर्न गयो। त्यो भिडियो हेरेपछि उनलाई पनि त्यस्तै मेसिन बनाउन मन लाग्यो।
त्यसपछि उनले कोठामा उपलब्ध तेलको कार्टुनमा फिलामेन्ट बत्ती जडान गरेर पानी राखे। त्यसपछि एक क्यारेट बटैको अण्डा ल्याए। अण्डा हालेको १८ दिनपछि ३० मध्ये एउटा चल्ला निस्कियो। यसले उनलाई निकै उत्साहित बनायो। उत्साहित उनले बजारमा गएर सामान र अण्डा ल्याए र अर्को पटक पाँच चल्ला निकाले। लगातार दुई पटक चल्ला कोरल्न सफल भएपछि उनले यसलाई व्यावसायिक बनाउन लागे। साथीभाइको सहयोगमा आवश्यक सामान जुटाएर अर्को मेसिन बनाए।
लगानीको समस्या भएपछि उनले आफू सुत्ने खाटको ‘प्लाइउड’ काटे। त्यतिले नपुगेपछि ‘स्टडी टेबल’ र ‘किचेन र्याक’ पनि बाँकी राखेनन्। त्यसलाई अलि आधुनिकस्तरको बनाउने कोसिस गरे। सफल पनि भए। उनले जति पनि सिके युट्ब र गुगलबाट नै सिके। जसमा १०५ अण्डा राखेर ८५ चल्ला निकाले।
घरबाट पढाइका लागि पठाएको खर्च उनले मेसिनमा खर्च गरे। उनले यसलाई थप व्यवस्थित बनाउन अझै सहयोग मागेर बनाए। लकडाउनको समयमा ३५ सयदेखि ५० हजारसम्मका मेसिन बनाएर बेचे।
यही व्यवसायलाई हाल सुस्मा र अशोक दम्पती मिलेर सञ्चालन गरिरहेका छन्। स्थानीय सहर बजारको स्रोत साधनको पुनः प्रयोग गर्दै, वातावरणमैत्री, सरल र सहजै चलाउन सकिने, कम लगानीमै किसानको घर दैलोमा पुर्याउन उनीहरू सफल भएका छन्।
परम्परागत तरिकाले भनेको जस्तो उत्पादन नहुने (कारणहरू जस्तैः वातावरणीय/मौसमको प्रभाव, ओथारो बसेको पोथीलाई विशेष हेरविचार चाहिने तथा पोथीमा सुलसुलो लाग्ने, सबै अण्डालाई बराबर स्याहार नहुने आदि) जसले गर्दा व्यावसायिक उत्पादन लिन सकिदैन भन्ने टुंगोमा उनी पुगे। हाल यो मेसिनमा यी समस्या देखिदैन र सजिलै व्यावसायिक उत्पादन लिन सकिन्छ।
सामान्य आयस्रोत भएका किसानले समेत आफ्नो लागि आफै उत्पादन गर्न सक्ने क्षमताको ह्याचेरी मेसिनहरू गाउँदेखि सहरसम्मका सौखिन (फेन्सी चरा/कुखुरापालक) मानिसका लागि बढी उपयोगी देखिएको उनी बताउँछन्। जस्ले गर्दा किसान स्वावलम्वी, ठूला ह्याचेरीको भर नपर्नुपर्ने, स्वास्थ चल्ला उत्पादन, चल्लामा नठगिने, घरमा आयआर्जन हुने यसका फाइदाहरू छन्।
उनीहरूले यस अवधारणालाई थप राम्रो बनाउने प्रयास जारी राखेका छन्। उनीहरूले मेसिन बनाउने, किसानको फार्म घुम्ने, अरूको बिग्रेको मेसिनमर्मत गर्ने काम पनि उनीहरूले गरिरहेका छन्। पहिले फेसबुकमार्फत विज्ञापन गर्दै आएका उनीहरूले हाल युट्बमा बढी जोड दिएका छन्। हाल जग्गा भाडामा लिएर टहरामै वर्कसप उनीहरूले बनाएका छन्। अर्डर आएको चार दिन मै डेलिभरी दिन सक्ने उनीहरु बताउँछन्।
यसका साथै उनीहरू ह्याचेरी मेसिनको जस्तै सुकुटी मेसिनको पनि टेक्नोलोजी उस्तै भएकाले यसै वर्षदेखि सुकुटी अर्थात ड्रायर मेसिनमा पनि केन्द्रित छन्। यो मेसिनबाट खेर जाने तरकारी, फलफूल वा मासुजन्य उल्पादनलाई सुकाएर पुनः प्रयोगमा ल्याउन सकिन्छ। यो मेसिनले होटल व्यावसायी, गृहणी वा किसानले राम्रो लाभ लिन सक्छन् र लिइरहेका छन्।
उनीहरू उज्यालो नेपाल अभियानले लोडेलिङ नहुने हुँदा थप आफूहरूको आँटलाई बलियो बनाएको बताउँछन्। देशको कुनाकाप्चामा पुगी सामान्य किसानले समेत राम्रो आयआर्जन गर्न सक्ने उनीहरूको भनाइ छ। स्वदेशी मेसिनले आयातीत मेसिनलाई समेत विस्थापित गरी देशको आर्थिक सुधारमा सहयोग गर्ने लक्ष्य उनीहरूको छ।
अहिले उनीहरू कहाँ चल्ला काढ्न अण्डा लिएर आउने ग्राहकको चाप बढेको छ। उनी चल्ला मात्रै काढ्दैनन्, मेसिन बनाएर बेच्छन् पनि। मेसिन बनाउन चाहनेहरूलाई आवश्यक समाग्री पनि उपलब्ध गराउँछन्। उनी आफूले बनाएको इन्क्युबेटर कुनै ब्रान्डेड कम्पनीभन्दा कम नभएको बताउँछन्। फर्निचरको राम्रो ज्ञान नभएकाले मेसिनको लुक्स खासै आकर्षक नभएपछि परिणामको हिसाबले बजारमा पाइने इन्क्युभेटरभन्दा राम्रो भएको उनको दाबी छ।