काठमाडौं। काठमाडौंका मनोज खड्काले ‘टप माउन्टेन गियर’ सञ्चालन गर्दै आएका छन्। उनले बिगत ६ वर्षदेखि सञ्चालनमा ल्याएको टप माउन्टेन गियरले ट्रेकिङ हाइकिङ तथा कर्पोरेट आउटफिटहरू सामानहरू (डाउन ज्याकेट, रेन ज्याकेट, टिसर्ट, झोला, सिल्पिङ ब्याग)को उत्पादन गर्दै आइरहेको छ। साथै टप माउन्टेन गियरले विभिन्न संघ–संस्थाहरूका लागि उनीहरूकै लोगो र नामसहितका सामानहरूको उत्पादन तथा बिक्री बितरण गर्ने काम गर्छ।
मुख्यतया बजारमा गुणस्तरीय सामान नपाउने, मूल्यमा एकरूपता नहुने र जुन उद्देश्यका लागि किनिएको वस्तु हो त्यो उद्देश्यअनुसारको काम नगर्ने समस्यालाई मध्यनजर गर्दै उनले नेपालमै यस्ता वस्तुहरूको उत्पादन तथा बिक्री वितरण थालेका हुन्।
नेपालमै गुणस्तरी ज्याकेट उत्पादन गर्दै सस्तो तथा सुलभ मूल्यमा बिक्री बितरण गर्ने उद्देश्यले यस टप माउन्टेन गियरको स्थापना गरिएको सञ्चालक मनोज खड्का बताउँछन्।
स्थापना भएदेखि नै यस टप माउन्टेन गियरले आफ्नै ब्रान्डको उत्पादनका साथै विभिन्न संघ–संस्थाहरूका लागि ज्याकेट, टिसर्ट साथै अन्य कपडा जन्य वस्तुहरूको उत्पादन गर्दै देश तथा विदेशमा बिक्री बितरण गर्दै आइरहेको खड्काको भनाइ छ। ‘
आजसम्म यस कम्पनीले ५० भन्दा धेरै रास्ट्रिय तथा अन्तर्रास्ट्रिय संघ–संस्थाहरूसँग काम गरिसकेको छ,’ खड्काले भने, ‘यसको साथै आफ्नै ब्रान्डको सामानहरू पनि बजारमा पठाएको छ।’ उनले आफ्नो ब्रान्डको थोक तथा खुद्रा बिक्रि गर्नको लागि भने विभिन्न सहरहरूमा स्टोर खोल्ने बारे योजना रहेको पनि बताए।
अहिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १५ जनालाई रोजगारी दिँदै आएकामा यस टप माउन्टेन गियरले आगामी २ वर्षभित्र ५० जनालाई रोजगारी दिने लक्ष्य उनको भनाइ छ। वि.स. २०७२ सालमा कम्पनी रजिस्टार कार्यालय तथा कर कार्यालयमा दर्ता भई सञ्चालनमा रहेको यस टप माउन्टेन गियरको लगानी ५ लाख रुपैयाँबाट सुरुको थियो ।
तर, हाल यसको कुल लगानी ३५ लाख रुपैयाँ रहेको छ । बजारमा यस कम्पनीको उत्पादित वस्तुहरूको मागबमोजिम उत्पादन बढाउने तयारी गर्दै गरेको पनि खड्काले जानकारी दिए।
यस कम्पनीले थप ३५ लाख रुपैयाँ लगानी गरी कुल ७० लाख लगानी गर्ने योजना बनाएको छ। आउने २ वर्षमा नेपलभरि ३ वटा र अर्को ५ वर्षभित्र १० वटा रिटेल आउटलेट खोल्ने योजना रहेको उनले बताए।