काठमाडाैं। नेपाली बजारमा मैदा र आँटाको चरम अभाव भएको छ। भारत सरकारले २०७९ वैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण मैदा र आँटाकाे चरम अभाव सुरू भएकाे हाे।
नेपाल मैदा उद्योग संघले विज्ञप्ति जारी गरेर मैदा आँटाकाे अभाव भएकाे जानकारी गराएकाे हाे। भारत सरकारले गहुँमा लगाएकाे प्रतिबन्धका कारण मैदा र आँटाको मूल्यसमेत दाेब्बरले बढीरहेकाे छ। मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेको हुँदा मैदा र आँटाको मूल्य बढीरहेकाे हाे। जसका कारण उपभोक्तालगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको संघले जनाएकाे छ ।
बजारमा मैदा आँटाकाे चरम अभाव हुँदा बिस्कुट, चाउचाउ, बेकरी, तन्दुरी र नान, भोजनालय रेष्टुरेन्टलगायत ठूला साना सबै होटललाई माग अनुसारको मैदा र आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा कसरी मैदा र आँटा उपलब्ध गराउने भनेर मैदा व्यवसायी चिन्तित छन्।
'अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन,' विज्ञप्तिमा भनिएकाे छ 'जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने केही उद्योगहरू पनि एक सातामा पूर्ण बन्द हुने अवस्थामा छन्।'
संघका अनुसाार मैदा उद्योगले बजारमा मैदा र आँटा दिन सक्ने अवस्था नै छैन। यो विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ।
मैदा उद्योग कृषिमा आधारित उद्योगमध्ये नेपालमा आत्मनिर्भर भइसकेको उद्योग भएकाले गहुँ प्रतिबन्धले मैदा र आँटाको अभाव सिर्जना भएकाे बताउँदै संघले भारत सरकारसँग कुरा गरी चाडो भन्दा चाडो थप गहुँ उपलब्ध गराई दिन सरकारसँग माग गरेकाे छ। अहिले प्राप्त ५० हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउदा पनी हाराहारी २० दिनलाई मात्र पुग्ने र त्यसपछि गहुँकाे फेरि हाकार हुने भन्दै सरकारकाे ध्यानाकर्ण गराएकाे छ।
नेपालमा गहुँको सिजन आउन अझ तीन महिना बाँकी रहेकाे भन्दै संघले सरकारसँग भारत सरकासरले दिएको ५० हजार मट्रिक टन गहुँ तुरुन्त मगाउन आग्रह गरेकाे छ। बाँकी तीन महिनाका लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ गहुँ उपलब्ध भएमा यहाँका उद्योग चल्ने र सबै क्षेत्रलाई फाईदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाई दिन समेत संघले सरकारसँग माग गरेकाे छ ।