काठमाडौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कहलिएका व्यापारीका ‘भित्री धन्दा’ बाहिरिएको छ।
कृषि उद्यमीका रूपमा समेत चिनिने व्यवसायी पवन गोल्यान, देशव्यापी फैलिएको भाटभटेनी सुपरस्टोर सञ्चालक मीनबहादुर गुरुङ, गैरआवसीय नेपाली संघ (एनआरएन) संस्थापक तथा मेडिसिटी अस्पतालका सञ्चालक उपेन्द्र महतो, योगगुरु रामदेवका सहयोगी तथा पतञ्जली नेपालका तत्कालीन सञ्चालक, भारतीय लगानीमा खुलेको डाबर नेपाललगायतले साना व्यवसायीलाई कसरी ठग्दा रहेछन् भन्ने घटना इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको आत्मदाहले उजार गरेको छ।
इलामका आचार्यले मंगलबार काठमाडौं नयाँबानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको ‘स्टाटस’ ले मुलुकमा नाम कहलिएका ठूला व्यापारीका ‘असली हर्कत’ उजागर गरिदिएको छ।
‘कुनै पनि मानिसले मृत्युअघि सत्य बोल्छ’ भनेजस्तै आचार्यले आत्मदाह गर्नु केही समयअघि नेपालका प्रतिष्ठित व्यापारीहरूले दिएको दुःखको बेलिविस्तार फेसबुकमा लेखेका थिए।
आचार्यले कृषि क्षेत्रको व्यावसायिक विस्तार र प्रवर्द्धनमा अहोरात्र खटिएको र नीतिगत सुधारमा लागेको बताउँदै आएका व्यवसायी गोल्यानले अनावश्यक दुःख दिएको लेखेका छन्।
किसानका उत्पादन बजारीकरण गर्न गोल्यानले कृषि कम्पनी खोलेका थिए। आचार्यले उत्पादन गरेको १ सय १० कार्टुन घ्यु गोल्यानको कम्पनीलाई दिएका थिए। गोल्यान आफैंले आचार्यसँग ‘अर्डर’ गरेर इलामदेखि काठमाडौंसम्म मगाएका थिए। काठमाडौंमा सामान आइपुगेपछि ‘घ्युको बजार छैन’ भनेर उनैलाई फिर्ता दिएको आचार्यले फेसबुकमा लेखेका छन्।
त्यसैगरी आचार्यले फेसबुकमा भाटभटेनीका सञ्चालक गुरूङमाथि पनि गम्भीर आरोप लगाएका छन्। उनले गुरुङलाई ३० प्रतिशत नाफाको व्यवस्था गरिदिनुपर्नेसमेत उल्लेख गरेका छन्।
‘साना उत्पादकले मार्ट भरिदिनुपर्ने, त्यो पनि उधारोमा,’ आचार्यले फेसबुकमा प्रश्न गरेका छन्, ‘एक महिनाभित्र पैसा दिन्छौं भन्ने तर तीन महिनासम्म सामानको पैसा नदिने?’
आचार्यले रुसमा उद्योग–व्यापार गरी अर्बपति भएका महतो एवं डा. समता प्रसादले दिएको दुःख पनि फेसबुकमा लेखेका छन्। उनीहरूको ग्रामोद्योग नामक कम्पनीलाई ‘प्रकृति’ ब्रान्डमा घ्यु बनाएर दिएको तर भुक्तानी नदिएको उल्लेख गरेका छन्।
बारम्बार भुक्तानी माग गर्दा मिति सकिएको घ्यु नै लैजान भनेको उनले उल्लेख गरेका छन्। त्यसैगरी अर्को व्यावसायिक घराना विशाल ग्रुपले खोलेको बिगमार्टले पनि दुःख दिएको आचार्यले लेखेका छन्।
उपभोक्तालाई नगदमा सामान बेच्ने र उत्पादकसँग उधारोमा सामान किन्ने र उनीहरूले उपभोक्ताबाट सामान बेचेर लिएको नगद अन्यत्र लगाएर आफू रातारात धनी बन्ने गरेको तर उत्पादकले पाउनुपर्ने भुक्तानीसम्म नपाउँदा साना व्यवसायीले आत्मदाह गर्नुपर्नेसम्मको अवस्था आएको आचार्यको घटनाले देखाउँछ।