काठमाडौं। डिजी पे प्रालि र द नेपाल टपबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ। डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा विज्ञापन र वार्षिक ग्राहक हुन पाउनेछन्।
डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बबरमहलस्थित राष्ट्रिय दैनिक द नेपाल टपसँग सहकार्य गर्ने सम्झौता गरेको हाे। सम्झौतापत्रमा द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखेरेल र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्।
सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने व्यावसायी तथा घरदैलोका ग्राहकले द नेपाल टपको सौजन्य झन्डै ५० हजार पर्ने ६० सीसी रंगिन विज्ञापन मात्र १५ हजारमा, १ हजार पाँच सय पर्ने वार्षिक ग्राहक मात्र एक हजारमा र वर्गीकृत तथा अन्य विज्ञापनमा ७० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखरेलले विज्ञापन कुनै पनि व्यवसायीका लागि आफ्नो बजार विस्तार गर्ने एक महत्वपूर्ण अंग भएकाे बताए। उनका अनुसार अझै राष्ट्रिय दैनिक पत्रिकामा आफ्नो विज्ञापन गर्नु धेरै राम्रो तर महँगो मानिन्छ।
सहकार्यअनुसार डिजी पेसँग आबद्ध सम्पूर्ण व्यवसायीका लागि मात्र योजना लागू गरिएको उनकाे भनाइ छ। व्यवसायीले सस्तो तथा सुलभ मूल्यमा आफ्नो विज्ञापन गरी व्यावसायिक तथा सामाजिक लाभ हुने र साथै डिजी पे घरदैलो अभियानमार्फत आफ्नो विज्ञापन झन धेरै जनमानससम्म पुग्न सक्नेछ।
उनले यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरेका छन्। उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए।
त्यस्तै डिजी पे का अध्यक्ष दिवाकरबहादुर पाण्डेले द नेपाल टप जस्तो एक प्रतिष्ठित नेपाली राष्ट्रिय दैनिक संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायी, घरदैलो र ग्राहकलाई विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए।
उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत सञ्चार क्षेत्रबाट राष्ट्रिय दैनिकलाई पनि आबद्ध गर्नु ठूलो उपलब्धि हो।
त्यसैगरी अरू पनि विभिन्न संस्थाहरूसँग पनि सहकार्य गरि आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुविधा दिने योजना रहेको बताए। हस्ताक्षर कार्यक्रममा द नेपाल टप, नेपाली राष्ट्रिय दैनिक र डिजी पेका सदस्यहरूकाे उपस्थित थियाे।