काठमाडौं। मुलुकमा विभिन्न किसिमका सामान उत्पादन हुन्छन्। तर, बजार अभावले कतिपय सामान कम उत्पादन हुँदै गएका छन्। उत्पादित वस्तुले बजार नपाउने समस्या पनि उत्तिकै छ।
तर, ललितपुरका अमृत विष्ट र सिंहबहादुर मोक्तानले मुलुकमा उत्पादिन सामग्रीकाे बजारीकरण अभाव हुन नदिन ‘साइनो– नेपाली मार्केट प्लेस’ अवधारणामा काम गरिरहेका छन्।
‘साइनो– नेपाली मार्केट प्लेस’ एक व्यापारिक प्लेटफर्म हो, जसले मुलुकमा उत्पादित वस्तु स्थानीय र विश्वबजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। साइनोले सबै स्थानीय र अर्गानिक उत्पादनका लागि साझा बजारका रूपमा काम गर्छ। यसले किसानका लागि दिगो आय सिर्जना गर्छ।
मुलुकमा राम्रा-राम्रा सामान उत्पादन हुन्छन्। केही वर्ष अघिसम्म ठूलो मात्रामा कफी, गलैंचाजस्ता सामान निर्यात हुन्छन्। यससँगै मुलुकमा अन्य थुप्रै राम्रा सामान बन्ने गरेका छन्। राम्रा वस्तु उत्पादन हुने तर अधिकांश उत्पादनले बजारीकरण गर्न नसकेको र कति सामानबारे त धेरै नेपाली बेखबर रहेको बिष्ट र मोक्तानले चाल पाए। त्यसपछि उनीहरूले मुलुकमा उत्पादन हुने वस्तुको बजारीकरणका लागि यो प्लेटफर्म तयार गरेका हुन्।
कोरोना महामारीका बेला नेपालको अर्थतन्त्र धराशयी भएको समाचार आउन थाले, व्यापार घाटा बढेको खबर पनि आए। तर, उनीहरू कत्ति पनि हाेताेत्साही भएनन्। बरू साथीसँग छलफल सुरू गरे। ‘हामीले छलफल गर्यौं, यिनै समस्यामा नै हामीले अवसर खोज्याैं र समाजका लागि केही योगदान गर्न सकिन्छ भन्नेबारे छलफल थाल्याैं जसले यहाँसम्म हामीलाई ल्यायो,’ विष्टले भने।
उनका अनुसार अनुसन्धान गरेपछि नेपालमा राम्रा-राम्रा सामान उत्पादन हुने, पहिले नेपालले पस्मिना, कफी, गलैंचाजस्ता सामान निर्यात गर्ने र अहिले पनि बजारमा धेरै राम्रा सामान बन्ने गरेको थाहा पाइयाे।
उत्पादित सामानले बजारीकरण गर्न नसकेको र कति सामानबारे धेरै नेपालीलाई थाहा पनि नरहेको उनीहरूले देखे। त्यसपछि उनीहरूले मुलुकमा उत्पादन हुने वस्तुका लागि एउटा भरपर्दो र विश्वसनीय प्लेटफर्मका रूपमा ‘साइनोः मार्केटप्लेस’ को सोच बनाए।
‘यही सोचलाई हामीले आफ्नो नेटवर्कमा रहेका विभिन्न व्यवसायमा सफल साथीलाई आफ्नो आइडिया सुनाउँदा यो आइडिया मन पराए र गर्नुपर्छ भनेर टिममा आबद्ध भयाैं र याे सुरू भयाे,’ विष्टले भने।
हाल उनीहरूले व्यवसायको फाउन्डेसन तयार गरेर काम सुरू गरेका छन्। विभिन्न व्यवसायका वस्तुको गुणस्तर र बजार अध्ययन गर्दै उनीहरूले त्यसका लागि प्लेटफर्म तयार गर्दैछन्। जसले नेपालमा उत्पादित सामग्री नेपालमा मात्र नभएर विदेशमा पनि चिनाउन र बिक्री वितरण गर्न मद्दत गर्छ। एउटै नेटवर्क व्यापारिक स्थानबाट नेपाली सामग्रीको बजारीकरण गर्नु उनीहरूको मुख्य लक्ष्य हो।