काठमाडौं। वरिष्ठ कलाकार हरिवंश आचार्यले बिवाइडीको विद्युतीय कार ‘एटो ३’ किनेका छन्। आचार्यले बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले भित्र्याएकाे एटो ३ मंगलबार नक्सालस्थित शाेरूममा गएर किनेका हुन्।
चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स’ बिवाइडी ‘एटो ३’ नेपालमा केही समय अघिमात्र भित्रिएको थियाे। एटो ३ को ब्रान्ड एम्बास्डरसमेत रहेका आचार्यले गत असोजमा नक्सालस्थित बिवाइडीको शोरूम उद्घाटन गर्ने क्रममा उक्त गाडी किन्ने वाचा गरेका थिए।
‘मेरो श्रीमतीले पनि एउटा गाडी चढ्नुपर्छ भनेर भनिरहेकी छिन्,’ उद्घाटन कार्यक्रममा बोल्दै आचार्यले भनेका थिए ‘उचित समयमा मैले पनि यो गाडी किन्ने विचार गरेको छु। म एटो ३ को ब्रान्ड एम्बास्डर भएका कारणले यो गाडी खरिद गर्दा मैले केही छुट पनि पाउँछु।’
आचार्यले बिवाइडीको शोरूमबाट नै गाडी खरिद गरेको साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले जानकारी दिइन्। गाडी खरिदपछि कलाकार आचार्यले नेपालमा विद्युतीय गाडीलाई बढावा दिनुपर्ने प्रतिक्रिया व्यक्त गरेको श्रेष्ठले जानकारी दिइन्।
अस्ट्रेलियामा रहेका केही साथीहरूलाई एटो ३ चढ्ने भनेर सुनाउँदा उहाँहरू छक्क पर्नुभयो भनेर आचार्यले सुनाएको पनि प्रवन्ध निर्देशक श्रेष्ठले क्यापिटल नेपाललाई सुनाइन्। एटो ३ किनेपछि सामाजिक सञ्जाल फेसबुकमा खुसी व्यक्त गर्दै कलाकार आचार्यले लेखेका छन् ‘आजबाट म पनि देश मै उत्पादित बिजुलीबाट चल्ने एटो ३ बिजुली गाडीमा।’
एटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्रीजडित छ। बिवाइडीले तयार पारेको ब्लेड ब्याट्रीले कारलाई पूर्ण सुरक्षित पारेको छ। एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ। नेपालमा उपलब्ध बिवाइडीका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ।
यसको एक्सिलेरेसन पावर झन उत्कृष्ट छ। एटो ३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्छ।एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुनमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ।
त्यसैगरी डिजिटल इन्स्ट्रमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम (एडिएएस) सुविधा पनि यसमा उपलब्ध छ। एटो ३ को बाहिरी डिजाइन आकर्षक छ।
थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन्। कम्पनीले नेपाल बजारमा एटो ३ को मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोेकेको थियो।