काठमाडौं। नेपाल प्रहरीले करौडौं रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित संलग्न केही कर्मचारीविरद्ध पक्राउ पुर्जी जारी गरेको छ।
बैंकका सिइओ तथा कर्मचारीले विभिन्न संस्था तथा व्यक्तिलाई ३१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा अपचलन गरेको पाइएपछि झापास्थित दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको हो।
बैंकका सिइओ तथा केही कर्मचारीविरुद्ध दुई दिनअघि नै पक्राउ पुर्जी जारी गरिएको दमक प्रहरी कार्यालयका डिएसपी दिलीप गिरीले बताए। ‘कामना सेवा विकास बैंकका केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेका छौं,' डिएसपी गिरीले क्यापिटल नेपालसँग भने, 'सबै कुरा अहिले खुलाउन मिल्दैन।’
पक्राउ पुर्जी जारी गरे पनि उनीहरू अहिलेसम्म पक्राउ नपरेको उनले स्पष्ट पारे। नेपाल राष्ट्र बैंकले अनुसन्धान थालेदेखि बैंकका सिइओ प्रविण बस्नेत अहिले फरार छन्।
राष्ट्र बैंकको अनुसन्धानबाट दोषी देखिएपछि अहिले बैंकका सिइओ बस्नेत सम्पर्कविहीन भएका छन्। ३१ करोड रुपैयाँ ऋण अपचलन भएको भन्दै राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गरेको केही दिनपछि दमक प्रहरी कार्यालयले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
बैंकका सिइओ तथा कर्मचारीका मिलेमतोमा दमकमा विभिन्न व्यक्तिलाई दिएको कर्जा दुरुपयोग गरेको पुष्टि भएपछि राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही अघि बढाउन केही समयअघि सिआइबीलाई पत्राचार गरेको थियो। सिआइबीले बैंकका कर्मचारीलाई बोलाएर बयान लिइरहेको छ।
केन्द्रीय बैंकले गरेको अनुसन्धानअनुसार कतिपय ऋण बिनाधितो दिइएको पाइएको छ। कमसल धितो राखेको पाइएको केन्द्रीय बैंकको अनुसन्धानबाट खुलेको छ।
सम्पत्ति मूल्यांकनकर्ता र बैंकका कर्मचारी मिलेर नक्कली ऋणी खडा गरी कतिपय ऋण आफैंले लिएको अनुसन्धानबाट देखिएको छ। कमसल धितो राखेर कर्जा दिएको र कर्जा आफैं लगेको तथा नक्कली कागजात एवं ऋणी खडा गरेर कर्जा लिएको पाइएको छ।