काठमाडौं। राजधानीको चक्रपथमा विद्युतीय बस सञ्चालन अध्ययन गर्न नेपालसहित विभिन्न देशका १३ कम्पनीले आशयपत्र पेस गरेका छन्।
गत कात्तिक २० मा आह्वान गरिएको बोलपत्रमा नेपालसहित भारत, चीन, पाकिस्तान, कोरियालगायत देशका १३ कम्पनीले संयुक्त उपक्रम (जेभी) मा आवेदन दिएका छन्।
आवेदन दिने कम्पनीका नाम भने बोर्डले सार्वजनिक गरेको छैन। ‘टेन्डर प्रक्रियामा सहभागी कम्पनीबारे विभिन्न चरणमा अध्ययन भइरहेका कारण अहिले नाम सार्वजनिक गर्दैनौं। एक चरणको अध्ययन सकिएपछि मात्रै कुन–कुन कम्पनी छनाैट भए थाहा हुन्छ,’ बोर्डका प्रवक्ता तथा सहसचिव अमृत लम्सालले क्यापिटल नेपालसँग भने।
बोर्डले एउटा मूल्यांकन समिति बनाएर ती १३ कम्पनीको प्राविधिक, आर्थिक, अन्य स्थानमा काम गरेको अनुभवलगायत पक्षमा अध्ययन गरिरहेको छ।
बोर्डका प्राविधिक, कानुन, सहसचिव, प्रशासन र सदस्य सचिवसहित पाँच सदस्यीय समितिले आवेदन दिने कम्पनीका विषयमा अध्ययन गरिरहेको छ।
समितिले माघ २० सम्म अध्ययन सक्ने प्रवक्ता लम्सालको भनाइ छ। त्यसपछि कानुनअनुसार लगानी बोर्डले ६ कम्पनी छनाैट गर्ने। छ।
पहिलो चरणको छनाैटमा परेका ६ कम्पनीका लागि बोर्डले चक्रपथमा विद्युतीय बस सञ्चालन अध्ययन गर्न बोलपत्र आह्वान गर्ने छ।
‘बोलपत्र मूल्यांकनपछि सारभूतरूपमा प्रभाग्राही न्यूनतम मूल्य अंकित बोलपत्र पेस गर्ने कम्पनीले डिपिआर बनाउन ठेक्का पाउने छ। तर, प्रक्रिया पुर्याउँदै मूल्यांकन गर्दा वैशाख लाग्छ,´ बोर्डका सिभिल इन्जिनियर निशा त्रिपाठीले भनिन्, ‘अहिले मूल्यांकन गरिरहेको समितिले माघ २० भित्र प्रतिवेदन बुझाए जेठसम्म डिपिआरका लागि ठेक्का आह्वान हुनसक्छ।´
इन्जिनियर त्रिपाठीका अनुसार ६ कम्पनीको मूल्यांकन भएपछि आर्थिक प्रस्तावका लागि फेरि समय दिनुपर्ने हुन्छ। त्यसपछि मात्रै जेठमा सम्झौता गर्ने सम्भावना रहन्छ।
तर, अध्ययन समितिले १३ कम्पनीमा कुनै समस्या भेट्यो भने बाँकी प्रक्रियाका विषयमा तत्काल भन्न सकिने अवस्था नरहेको इन्जिनियर त्रिपाठीले बताइन्।
अध्ययन गर्ने समय कति हुन्छ?
गत कात्तिक २० मा खुलेको आवेदनको म्याद मंसिर २६ सम्म थियो। अध्ययन जिम्मेवारी पाउने कम्पनीले सम्झौताको १८ महिनाभित्र चक्रपथमा विद्युतीय बस सञ्चालन विषयमा अध्ययन गरेर लगानी बोर्डलाई प्रतिवेदन बुझाउनुपर्ने छ।
चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न २० अर्ब १९ करोड रूपैयाँ लाग्ने अनुमान बोर्डलेको छ। तै पनि डिपिआर तयारपछि मात्र यकिन लागत आउने छ।
के–के हुन्छ परिवर्तन ?
विद्युतीय बस सञ्चालनपछि सार्वजनिक सवारीसाधनको सेवा स्तरोन्नति, यात्रा अवधि घट्ने, सडक सुरक्षा, सार्वजनिक सवारीसाधन सहज उपलब्धता, विश्वसनियता बढ्ने छ।
चक्रपथको २७.३० किलोमिटरमा `र्यापिड ट्रान्जिट´ लागू गर्नका लागि अध्ययन गर्ने तयारी बोर्डले गरेको हो। चक्रपथको एउटा लेन विद्युतीय बसका लागि मात्र छुट्याइने छ।
त्यस्तै निर्माण, सञ्चालन र व्यवस्थापन निजी क्षेत्रले गर्ने छ। पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार ७५ टर्मिनल र २७ स्टेसन रहनेछन्।
चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न ६ मिटर चौडाइको बसस्टेसन, स्मार्ट कार्ड र सिक्कामा आधारित भाडा प्रणाली, बत्ती, सिग्नल, जिपिएस प्रणाली, टर्मिनल र चार्जिङ स्टेसनलगायत निर्माण हुनेछ। त्यस्तै फ्लाइओभर सडक, पुलहरू तयार हुनेछन्।
सन् २०२९ सम्म चक्रपथमा दैनिक यात्रु आवागमन संख्या कम्तीमा १७ लाखदेखि बढीमा ३० लाख ८ हजारसम्म रहने बोर्डले अनुमान गरेको छ।
यो क्रम २०४९ सम्म पुग्दा कम्तीमा २३ लाख ७ हजारदेखि बढीमा दैनिक ४२ लाख ९ हजारले चक्रपथको बाटो प्रयोग गरेर यात्रा गर्नेछन्।
सोही चाप आधार मानेर पूर्वाधार निर्माण गर्ने योजना बोर्डले लिएको छ। राजधानीमा बढ्दो जनघनत्व र प्रदुषण लक्ष्य गरी विद्युतीय बस सञ्चालन योजना अघि सारेको बोर्डले जनाएको छ।