काठमाडौं। राजधानीको चक्रपथमा विद्युतीय बस सञ्चालन अध्ययन गर्न नेपालसहित विभिन्न देशका १३ कम्पनीले आशयपत्र पेस गरेका छन्।
गत कात्तिक २० मा आह्वान गरिएको बोलपत्रमा नेपालसहित भारत, चीन, पाकिस्तान, कोरियालगायत देशका १३ कम्पनीले संयुक्त उपक्रम (जेभी) मा आवेदन दिएका छन्।
आवेदन दिने कम्पनीका नाम भने बोर्डले सार्वजनिक गरेको छैन। ‘टेन्डर प्रक्रियामा सहभागी कम्पनीबारे विभिन्न चरणमा अध्ययन भइरहेका कारण अहिले नाम सार्वजनिक गर्दैनौं। एक चरणको अध्ययन सकिएपछि मात्रै कुन–कुन कम्पनी छनाैट भए थाहा हुन्छ,’ बोर्डका प्रवक्ता तथा सहसचिव अमृत लम्सालले क्यापिटल नेपालसँग भने।
बोर्डले एउटा मूल्याँकन समिति बनाएर १३ वटा कम्पनीको प्राविधिक, आर्थिक, अन्य स्थानमा काम गरेको अनुभवलगायत पक्षमा अध्ययन गरिरहेको छ। बोर्डका प्राविधिक, कानुन, सहसचिव, प्रशासन र सदस्य सचिवसहित ५ जना सदस्य भएको अध्ययन समितिले आवेदन दिने कम्पनीको विषयमा अध्ययन गरिरहेको छ।
समितिले माघ २० सम्ममा अध्ययनको प्रक्रिया सक्ने प्रवक्त लम्सालको भनाइ छ। त्यसपछि कानुनअनुसार लगानी बोर्डले ६ वटा कम्पनीलाई छनोट गर्नुपर्ने हुन्छ। पहिलो चरणको छनोटमा परेका ६ वटा कम्पनीसँग बोर्डले चक्रपथमा विद्युतीय बस सञ्चालनको अध्ययन गर्न बोलपत्र आब्हान गर्ने छ।
‘बोलपत्रको मूल्याँकनपछि सारभूत रुपमा प्रभाग्राही न्यूनतम मूल्य अंकित बोलपत्र पेश गर्ने संस्थाले डिपिआर बनाउन ठेक्का पाउनेछ । तर, प्रक्रिया पुर्याँउँदै मुल्याँङ्कन गर्दा वैशाख लाग्छ’ बोर्डकी सिभिल इन्जिनियर निशा त्रिपाठी भन्छिन्, ‘अहिले मूल्याँकन गरिरहेको समितिले माघ २० गतेभित्र प्रतिवेदन बुझाएमा जेठसम्म डिपिआरका लागि ठेक्का आब्हान हुनसक्छ ।
इन्जिनियर त्रिपाठीका अनुसार ६ वटा कम्पनीको मूल्याङ्कन भएपछि आर्थिक प्रस्तवको लागि फेरि समय दिनुपर्ने हुन्छ। त्यसपछि मात्रै जेठमा सम्झौता गर्ने सम्भावना रहन्छ। तर, १३ वटा कम्पनीको अध्ययन समितिले कुनै समस्या भेट्यो भने बाँकी प्रक्रियाको विषयमा तत्काल भन्न सकिने अवस्था नरहेको इन्जिनियर त्रिपाठीले बताइन्।
अध्ययन गर्ने समय कति हुन्छ ?
कात्तिक २० मा खुलेको आवेदनको म्याद मंसिर २६ गतेसम्म रहेको थियो। अध्ययनको जिम्मेवारी पाउने कम्पनीले अध्ययन सम्झौता गरेको १८ महिनाभित्र चक्रपथमा विद्युतीय बस सञ्चालनको विषयमा अध्ययन गरेर प्रतिवेदन लगानी बोर्डलाई बुझाउनु पर्ने छ। चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न २० अर्ब १९ करोड रूपैयाँ लाग्ने अनुमान बोर्डले गरेको छ। यद्यपि डिपिआर तयारपछि मात्र यकिन लागत आउनेछ ।
के–के हुन्छ परिवर्तन ?
विद्युतीय बस सञ्चालनपछि सार्वजनिक सवारीसाधनको सेवा स्तरोन्नति, यात्रा अवधि घटाउने, सडक सुरक्षा, सार्वजनिक सवारीसाधनको सहज उपलब्धता, विश्वासनीयता बढ्ने बताइएको छ। चक्रपथको २७.३० किलोमिटरमा र्यापिड ट्रान्जिट लागू गर्नका लागि अध्ययन गर्ने तयारी बोर्डले गरेको हो। चक्रपथको एउटा लेन विद्युतीय बसका लागि मात्र छुट्याइनेछ।
त्यस्तै निर्माण, सञ्चालन र व्यवस्थापन निजी क्षेत्रले गर्नेछ। पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार ७५ वटा बस टर्मिनल र २७ वटा स्टेसनहरू रहनेछन्।
चक्रपथमा विद्युतीय बस सञ्चालनका लागि ६ मिटर चौडाइको बसस्टेसन, स्मार्ट कार्ड र सिक्कामा आधारित भाडा प्रणाली, बत्ती, सिग्नल, जिपिएस प्रणाली, टर्मिनल र चार्जिङ स्टेसनलगायत निर्माण हुनेछ। त्यस्तै फ्लाइओभर सडक, पुलहरू तयार हुनेछ।
सन् २०२९ सम्म चक्रपथमा दैनिक हिँड्ने यात्रु संख्या कम्तिमा १७ लाखदेखि बढीमा ३० लाख ८ हजारसम्म रहने बोर्डले अनुमान गरेको छ। यो क्रम सन् २०४९ सम्म पुग्दा कम्तिमा २३ लाख ७ हजारदेखि बढीमा दैनिक ४२ लाख ९ हजार मानिसले चक्रपथको बाटो प्रयोग गरेर यात्रा गर्नेछन्।
सोही चापलाई आधार मानेर पूर्वाधार निर्माण गर्ने योजना बोर्डले लिएको छ। राजधानीमा बढ्दो जनघनत्व र प्रदुषण लक्षित गरी विद्युतीय बस सञ्चालन योजना अघि सारेको बोर्डले जनाएको छ।