काठमाडौं। नेपाली समाजमा मदिरा निकै प्रचलित पेय हो। ग्रामीण भेगदेखि सहरसम्म मदिरा पारखी धेरै छन्। नेपाली उद्योगले पर्याप्त उत्पादन गर्नुका साथै विदेशी कम्पनीका महँगा मदिरा आयात हुने गरेका छन्।
विदेशबाट आयात भएका मदिराको बजार नेपालमा ठूलो छ। नेपालीले आफ्नो घरेलु कच्चापदार्थ प्रयोग गरेर स्थानीयस्तरमा मदिरा उत्पादन गर्छन्। नेपालका अधिकांश ग्रामीण भेगमा यो मदिरा संस्कृतिसँग पनि जोडिएको छ भने अधिकांश मात्रामा स्थानीय मदिरा प्रयोग हुने गरेको छ।
तर, मुलुकका विभिन्न समुदायमा उत्पादन भएका घरेलु मदिरामा अल्कोहलको भोल्युम (मात्रा) जाँच नगरिएको र कुन तत्व कति मात्रामा छ भन्ने पहिचान पनि हुँदैन।
चल्तीका मदिरा ‘डिस्टिलिङ सिस्टम’ प्रविधिमा रहेका यही समस्या देखेर कास्कीका अमरसिंह पुन र शर्मिला मल्लले समस्या समाधानका लागि फेसबुक पेजमार्फत विभिन्न उपाय खोजी गरी नयाँ अवधारणा सुरु गरेका छन्।
उनीहरूले नेपाली कच्चापदार्थ प्रयोग गरी नेपाली कालिगढको सहयोगमा अत्याधुनिक डिस्टिलिङ युनिटको ‘प्रोटोटाइप’ तयार गरेका छन्।
नेपाली बजारमा उत्पादन हुने न्यूनगुणस्तरीय, अवैज्ञानिक र अस्वस्थकर मदिरा देखेपछि उनीहरूले यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने सोचाइ बनाए।
त्यसपछि उनीहरूले यसलाई कसरी गुणस्तरीय र वैज्ञानिक बनाउन सकिन्छ भन्ने खोजी गर्न थाले। खोज्दै जाँदा उनीहरूले यो प्रविधि विकास गरेका हुन्।
उनीहरूको यो प्रविधिले मदिराको गुणस्तरमा एकरूपता कायम गर्न मद्दत गर्छ भने झन्झटिले प्रणालीमा सुधार गर्छ। अध्ययन गर्दै जाँदा उनीहरूले अत्याधुनिक डिस्टिलिङ युनिट विकास गरे।
ल्याब सेटिङको सफल परिक्षणलगत्तै उनीहरूले ‘पेड पाइलट टेस्टिङ’ का लागि नेपालका दुर्गम र सुगम ठाउँमा विभिन्न समयमा प्रणाली विकास गर्दै तामा, स्टिल र सिल्पट बोइलरको पनि विकल्प निर्माण गरी उपभोक्ताको माग र चाहनाबमोजिम एक वर्षभन्दा बढीको सफल बजार परीक्षणसँगै करिब–करिब परीक्षणकाल अन्त्य गरेका छन्।
पुन र मल्लका अनुसार बजारमा ‘मेड इन नेपाल प्रडक्ट’ लाई डिस्टिलिङ सिस्टम नेपाल नामक कम्पनी दर्ता गरी मदिरा उत्पादकलाई सेवा उपलब्ध गराउने गरिएको छ।
उनीहरूले विकास गरेको प्रविधिले गुणस्तरीय मदिरा उत्पादन गर्दछ। उनीहरूले आफूले विकास गरेको प्रविधि गाउँ–गाउँ पुर्याएर गुणस्तरीय र सुरक्षित मदिराको महत्वको चेतना जगाउने लक्ष्य लिएका छन्।
उनीहरूले विकास गरेको डिस्टिलिङ सिस्टममा प्रयोग हुने प्रविधिले डिस्टिलिङ वाटर इसेन्सियल आयल र हाइड्रो तथा विशेषगरी गुणस्तरीय रक्सी अल्कोहिलिक स्प्रिट मदिरा उत्पादन गर्दछ।
नेपालमा केही वर्ष अन्तरालमा दोहोरिने विषाक्त मदिरा सेवनबाट हुने मेथोनोल प्वाइजनका कारण धेरै जनधनको क्षति भइरहनुका धेरै कारणमध्ये चलनमा रहेका अवान्छित परम्परागत डिस्टिलिङ प्रविधि र प्रणाली पनि प्रमुख होे।
आजको दिनमा उनीहरूको प्रविधि पुगेका ठाँउबाट गुणस्तरीय र सुरक्षित मदिराको महत्वको चेतना सम्बन्धित समाज र बिस्तारै देशभरि फैलिँदै छ।
यो प्रविधिले बिस्तारै जनचेतना जगाउने र यो विकराल विषाक्त मदिरा सेवन समस्या रोक्न मद्दत गर्ने उनीहरूको दाबी छ। यो प्रविधिका कारण मदिरा उत्पादन गरेर आर्थिक उपार्जन गरेका धेरैलाई सहज, सरल र सस्तो उत्पादन गर्न सहयोग गरेको छ।
जसका कारण यस व्यवसायमा आबद्धलाई परम्परागत प्रणालीजस्तो झन्झटिलो, समय र खर्चिलो हुने प्रणालीमा सुधार ल्याएको छ। साथै, मदिराको गुणस्तरमा पनि यस प्रणालीले सुधार ल्याएको छ।
विभिन्न समयमा नेपाली मदिरालाई विदेशी मदिराजस्तै ब्रान्डिङ गरिने विषय उठान पनि हुने गरेको छ। यसका लागि पनि पुन र मल्लले विकास गरेको यो प्रणालीले महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ।
परम्परागत मदिरा उत्पादन विधिलाई वैज्ञानिक र सहज बनाउने उनीहरूको यो प्रणाली नेपालजस्तो संस्कृतिसँग जोडिएको मदिराको उत्पादनमा बढी प्रयोग हुने किसिमको छ।
बजार अवस्था र उत्पादन गरिने वस्तुको गुणस्तर दुवैको अध्ययन गरेकाले यस व्यवसायले राम्रो प्रभाव पार्ने उनीहरूको भनाइ छ। उनीहरू यो प्रविधिको उत्पादन र बजारीकरणमा लागिरहेका छन्।