काठमाडौं। माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनापछि हवाई यात्रु घटेका छन्। खासरी पोखरा जाने यात्रुसँगै मुलुकभरि उड्ने यात्रु संख्या घटिरहेको बेला आन्तरिक उडानमा ५५ प्रतिशत बजार हिस्सा ओगटेको बुद्ध एयरले सुरक्षामा कुनै सम्झौता नगरेकाले निर्धक्क भएर उडान गर्न अनुरोध गरेको छ।
आइतबार पत्रकारहरूसँग बुद्ध एयरले ‘एयर सेफ्टी’ का क्षेत्रमा कस्ता–कस्ता काम गरिरहेको छ र कस्ता प्रविधि प्रयोग गरिरहेको छ भनेर जानकारी गरायो।
बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले हवाई संवेदनशिलता ध्यानमा राख्दै एयर सेफ्टीका लागि अर्बाैं रुपैयाँ लगानी गरेको जानकारी दिए। उनले हवाई सुरक्षाका लागि आवश्यक जनशक्तिदेखि उपकरण खरिदमा कुनै कन्जुस्याइँ नगरेको बताउँदै आफूमातहतका विभागलाई पनि चुस्त भएर काम गर्न सधैं प्रेरणा दिइरहेको बताए।
नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर जहाज मर्मत र सञ्चालनका हिसाबले सुरक्षित रहेको उनले बताए। बुद्धले माघ १ गते भएको जहाज दुर्घटनापछि हवाई उडान थप सुरक्षित बनाउन जहाज मर्मतलगायत विषयमा थप कडाई साथ काम गरिहेको बस्नेतले जानकारी दिए।
‘नेपालमा पछिल्लो समय भइरहेका जहाज दुर्घटनाले थप चुनौती थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा हामी असाध्यै सचेत छौं,’ बुद्धका प्रबन्ध निर्देशक बस्नेतले भने, ‘हवाई उडान, उडानको प्राविधिक पक्षका विषयमा नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर सहकार्य गरिरहेका छौं। हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेका छौं।’
बुद्धले उड्डयन सुरक्षाका लागि अर्बौ रुपैयाँ लगानी गरिरहेको जानकारी दिँदै बस्नेतले पछिल्लो पाँच वर्षमा आफ्ना पाइलट तथा इन्जिनियरको तालिममा ५८ करोड रुपैयाँ खर्च गरेको बताए।
‘पाइलट तथा प्राविधिकले जति धेरै तालिम तथा प्रशिक्षण पाए उति धेरै सुरक्षित उडान हुन्छ,’ उनले भने, ‘सोहीअनुसार लगानी गरेका हौं। पाँच वर्षमा तालिमका लागि ५८ करोड ३१ लाख ६२ हजार रुपैयाँ खर्च गरेका छौं।’