भोजपुर । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ ।
देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ । खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा उत्पादनमा कमी आएको देखिन्छ । यहाँ भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन् ।
यस्ता खुकुरी विश्वबजारमा समेत प्रख्यात छ । यी खुकुरीको बजारमा धेरै माग हुने गरेको छ । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम १ हजारदेखि अधिकतम १० हजार रुपैयाँसम्म पर्ने व्यवसायीको भनाइ छ ।
यहाँको खुकुरीको मागलाई धान्नै मुस्किल रहेको स्थानीय व्यापारीको भनाइ छ । विदेश तथा बाहिरका जिल्लाबाट दुईदेखि चार सयसम्म खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जिता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए । “भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ”, गजमेरले भने, “विदेशसँगै, देशका विभिन्न ठाउँबाट माग आउँछ । मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।”
कालीगढ पेसालाई बचाइराख्नका लागि खुकुरी बनाउनेलगायतका तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताउछन् । पेसालाई जोगाइराख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीको सुझाव छ ।
दशक अघिसम्म धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिकरूपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ । बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताए ।
जिल्लाको पहिचानलाई जोगाउँदै आएको खुकुरी बनाउने कालीगढ पेसा लोप हुँदै जानु दुःखद् रहेको जानकारहरूको भनाइ छ । पेसालाई जोगाउन राज्यले कालीगढहरूको समस्याको पहिचान गरी आवश्यक साथ सहयोगसँगै प्रोत्साहन गर्नुपर्ने उनीहरुले बताउने गरेका छन् ।
विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरनहरू बन्द हुँदा यतिबेला गाउँघरका लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेको व्यवसायीको भनाइ छ । रासस