काठमाडौं। डिजाइन तयार भएको सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य आगामी २०८० वैशाखबाट मात्रै सुरु हुने भएको छ। निर्माण कम्पनीले २०७८ फागुनबाट सुरु गरेको डिजाइनको काम गत पुसमा सकिएको थियो।
सुरुङ निर्माणको जिम्मेवारी लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सम्झौताअनुसार समयमै डिजाइन तयार गरेको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।
निर्माण कम्पनीले तयार गरेको सुरुङको डिजाइन अध्ययन चरणमा रहेकाले निर्माण सुरु हुन केही समय लाग्ने विकास केन्द्रको भनाइ छ।
नेपालमा सुरुङसम्बन्धी दक्ष प्राविधिक नहुँदा डिजाइन अध्ययनको लागि स्वीजरल्याण्डबाट प्राविधिक जनशक्ति ल्याएर विकास केन्द्रले अध्ययन गरिरहेको छ।
‘डिजाइन अध्ययन गर्न अढाइ महिना लाग्छ, त्यसपछि निर्माण कम्पनीलाई निर्माणस्थल पुग्न एक महिना लाग्छ होला,’ केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सौरभ बज्राचार्यले क्यापिटल नेपालसँग भने, ‘अनिमात्रै निर्माणको काम सुरु हुने हो। सुरुङ बनाउने कुरामा धेरै हतार गरेर हुँदैन, अध्ययन राम्रोसँग गर्नुपर्छ।’
उनका अनुसार डिजाइन अध्ययन गरेर निर्माण कम्पनीले ‘फिल्ड’ मा काम सुरु गर्दा सन् २०२३ अप्रिल अन्तिम (२०८० वैशाख) लाग्ने छ।
विदेशी प्रविधिकले पारिश्रमिक कति लिन्छन्?
सिद्धबाबा सुरुङमार्गको डिजाइन अध्ययन गर्न स्विजरल्यान्डबाट पहिलो चरणमा दुईजना प्राविधिक आएका थिए। उनीहरू जनवरी ९ मा आएर १३ मा फर्किएका थिए।
एक नेपाली र एक विदेशीसहितको टोली नेपाल आएको विकास केन्द्रका सिडिई बज्राचार्य बताउँछन्। उनका अनुसार स्वीस प्राविधिक टोली सुरुङमार्ग निर्माण पूरा नहुँदासम्म नेपाल आइरहन्छ।
पहिलो चरणमा दुईजना आए पनि सातजनाको टोलीले समय–समयमा नेपाल आएर सुरुङको अध्ययन गर्नेछन्। जसमा पाँच विदेशी र दुई नेपाली रहने केन्द्रले जनाएको छ।
‘प्राविधिकहरू आवश्यकताअनुसार आउने जाने गर्छन्, उनीहरूलाई दिने पारिश्रमिक दैनिक डेढ लाख रुपैयाँसम्म हुन्छ,’ सिडिई बज्राचार्यले भने।
स्वीस टोलीले पहिलो चरणमा आफ्नो सुझाव दिएर स्वदेश फर्किएको र त्यसलाई केन्द्रले थप अध्ययन गरिरहेको छ। सरकारलाई डिजाइन बुझाएको निर्माण कम्पनी चाइना स्टेट भने निर्माणस्थलमा आवश्यक पर्ने पूर्वतयारी गर्दैछ।
पूर्वतयारीका काममा साइट क्याम्प, ल्याब निर्माण, क्रसर जडान गर्ने काम तथा विद्युत लाइन तान्ने काम चाइना स्टेटले गर्न थालेको छ। सुरुङ खन्न ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँ खर्च हुनेछ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले २०७८ जेठमा आह्वान गरेको बोलपत्रमा चार कम्पनीले सुरुङ बनाउन आवेदन दिएका थिए। जसमध्ये सबैभन्दा कम लागत प्रस्ताव गर्ने चाइना स्टेट कन्स्ट्रक्सन छनौटमा परेको हो।
गत फागुनमा ठेक्का सम्झौता भएको सिद्धबाबा सुरुङमार्ग पाँच वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ। जसअनुसार २०८३ फागुनमा निर्माण सकिनुपर्छ। निर्माण सकिएको पाँच वर्षसम्म सुरुङ मर्मतको जिम्मेवारी पनि चाइना स्टेटकै हुन्छ।
‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्ट्र्याक्ट’ (इपिसी) मोडेलमा निर्माण गर्न लागिएको सुरुङमार्गका लागि आवश्यक मेसिन आयात, डिजाइन, पहुँचमार्ग निर्माण, कामदारलगायत सम्पूर्ण कामको जिम्मेवारी निर्माण कम्पनीकै हो।
सिद्धार्थ राजमार्गमा पर्ने उक्त स्थानमा धेरै नै पहिरो गएपछि त्यसबाट हुने जनधनको क्षति कम गर्न सुरुङमार्ग निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ। बुटबलबाट पाल्पा जाने उक्त सडकमा पहिरो नियन्त्रणका लागि अन्य विकल्प नभएपछि सुरुङमार्ग निर्माण गर्न लागिएको हो।
नेपालमा पहिलोपटक बन्न लागेको ‘रकसेड’ ले पहिरो व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा छ। १ हजार १ सय २६ मिटर लामो सुरुङ दुई लेनको हुनेछ।
उक्त बाटोमा चल्ने ठूला सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताका सवारीलाई रकसेडबाट पठाउने योजना रहेको सडक विभागले जनाएको छ।
ठेलागाडा, साना टेम्पो कम लोडका गाडी रकसेडबाट पठाइने र अरू अधिकांश सवारी सुरुङबाट आवतजावत गर्नेछन्।
काठमाडौंमा निर्माणाधीन नागढुंगा सुरुङमार्ग सडक सञ्जालको क्षेत्रमा नेपालकै पहिलो सुरुङमार्ग हो। त्यसपछि निर्माण गर्न लागिएको सिद्धबाबा दोस्रो सुरुङमार्ग हो। नागढुंगा जापान सरकारको ऋण सहयोगमा निर्माण भइरहेको छ भने सिद्धबाबा निर्माणमा सरकारले आफ्नै रकम खर्च गर्न लागेको हो।
सरकारले देशभरि एक दर्जन बढी सुरुङमार्ग निर्माण योजना अघि बढाएको छ। तर, बजेट अभाव र सवारी चाप कम भएका कारण कतिपयको अध्ययनसमेत अगाडि बढेको छैन।