काठमाडाैं । सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यले सुरु पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुन सकेको छैन ।
परियोजनाको २०७६ भदौ १२ गते २०७९ पुसभित्र सक्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा २०७९ सालभित्र सो आयोजनाको काम सक्ने उल्लेख थियो ।
भौतिक निर्माण तीव्ररुपमा अघि बढेको भनेपनि सामग्री अभाव तथा विविध कारण समयमै आयोजना सम्पन्न नभएको जनाइएको छ । निर्माण कम्पनीले खानेपानी वितरणको डिआइ नामक ठूला पोलिथिन पाइप अभावको कारण देखाउँदै आएका कारण निर्धारित समयमा आयोजना सम्पन्न नहुने देखिएको छ ।
गत साउनदेखि भारतमा बुकिङ गरिएको पाइप नआएको कारण देखाइएको हो । केही स्थानमा पाइप बिच्छ्याउने तथा धारा वितरणका क्रममा विवाद भएकाले आयोजना सक्ने समय लम्बिने देखिएको हो ।
निर्धारित समयमा आयोजना सम्पन्न नहुने भएको उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले बताए । उनले निर्माण कप्पनीले विविध कारण देखाउँदै थप एक वर्ष समय मागेको छ । भौतिक संरचना निर्माणको काम ७८ प्रतिशत सम्पन्न भएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यसाथ आयोजना कार्यान्वयन चरणमा छ । कोरोना सङ्क्रमणको उच्च जोखिमले सम्झौतापछि केही समय धकेलिएको आयोजनाको काम पछिल्लो समय तीव्र पारिएको हो ।
पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमीरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै सडक पुर्याउने काम भइसकेकाले उक्त सडक ढलान तथा ग्राभेल गर्ने काम भइरहेको समितिले जनाएको छ । हाल मूल र रिजर्भ ट्यांकीसम्म पहुँचमार्गको काम भइरहेको छ । एक हजार सात सयका घरमा धारा जडान कार्य सकिएको छ ।
उनका अनुसार कोरोना सङ्क्रमण, गत असार–साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्याएकाले आयोजनाको काम केही धकेलिए पनि निर्धारित समयमै स्थानीयका घरमा खानेपानी पुर्याउने लक्ष्यका साथ काम अघि बढाइएपनि निर्माण व्यवसायीको आलटाल तथा सामग्री अभाव देखाउँदै समयमै आयोजना सम्पन्न नहुने देखिएको हो ।
आयोजनामा कलेक्टर–वेल चार, सम्प–वेल दुई, भुई ट्यांकी १६, ब्रेक प्रेसर ट्यांकी छ, पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर दुई, प्लेन सेडीमेनटेसन ट्याङ्की दुई, र्यापिड–स्याण्ड फिल्टर एक), प्रसारण लाइन ९ दशमलव १३ किलोमिटर, शाखा प्रसारण लाइन ३७ दशमलव २३ किलोमिटर, वितरण लाइन १८९ दशमलव तीन किलोमिटर, कार्यालय भवन एक, गार्ड भवन १७, जेनेरेटर भवन पाँच, फायरहाइड्रेन्ट २०, इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्य, सरसफाइका संरचना तथा आवश्यक शौचालय निर्माणका काम अन्तिम चरणमा पुगेका छन् ।
यसैबीच सांसद गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, नगरप्रमुख महेश खरेललगायतको टोलीले शुक्रबार आयोजनाको अनुगमन गर्दै सरकारले दिएको समयसीमाभित्र सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गरे ।
टोलीले निर्माण कम्पनीलाई गुणस्तरीय सामग्री प्रयोग गर्न निर्देशन दिँदै कामलाई निरन्तरता दिनसमेत आग्रह गरेको छ । उक्त खानेपानी आयोजना रु दुई अर्ब २१ करोड लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइए पनि निर्माण कम्पनीले रु एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने सम्झौता भएको हो ।
आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशतअर्थात् ११ करोड ५ लाख रूपैयाँ उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार रूपैयाँ जम्मा गरेका छन् । रासस