एजेन्सी। विश्वको सबैभन्दा ठूलो विद्युत उत्पादन गर्ने जलाशय आयोजना थ्री गर्जेज पनि `सेडिमेन्ट´ को समस्यामा पर्न थालेकाे छ। विश्वका हजारौं ठूला बाँध बालुवा र माटोले भरिन थालेसँगै थ्री गर्जेजको जलाशयक आकार बिस्तारै घट्दै जाने देखिएको छ।
संयुक्त राष्ट्र संघका शोधकर्ताहरूले संसारभरि सञ्चालनमा रहेका अधिकांश बाँध आउँदो सन् २०५० सम्ममा आफ्नो भण्डारण क्षमताको एक चौथाइ क्षमता गुमाउने खतरा रहेको निष्कर्ष निकालेका छन् ।
शोधकर्ताका अनुसार आगामी २७ वर्षसम्म थ्री गर्जेज बाँधमा पनि माटो र बालुवा थुप्रिएर जलसतह घट्ने र त्यसले विद्युत उत्पादनमा असर गर्ने देखिएको छ। यसले गर्दा पानी र ऊर्जा सुरक्षामा खतराको घन्टी बज्ने चेतावनी शोधकर्ताहरूको छ।
थ्री गर्जेज बाँध चीनको केन्द्र भागमा रहेको हुबेइ प्रान्तको यालिङ जिल्लाको इचाङ भएर बग्ने याङत्से नदीमा निर्माण भई सन् २००३ देखि सञ्चालनमा आएको छ । यो आयोजना बनाउन त्यतिबेला ३१ अर्ब ७६ करोड डलर (२ खर्ब ३ अर्ब युआन) लागेको थियो ।
आयोजनाले जलविद्युत उत्पादन, बाढी नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्दै आएको छ। बाँधको उचाइ १ सय ८१ मिटर छ।
राष्ट्र संघको पानी, वातावरण र स्वास्थ्य संस्थाको नयाँ अध्ययनले यो शताब्दी मध्यसम्ममा बाँध र जलाशयहरूले लगभग १.६५ ट्रिलियन घनमिटर पानी भण्डारण क्षमता गुमाउने देखाएको छ।
यो आँकडा भारत, चीन, इन्डोनेसिया, फ्रान्स र क्यानडाको संयुक्त वार्षिक पानी प्रयोगको नजिक छ। अन्वेषकहरूले १ सय ५० देशमा लगभग ५० हजार ठूला बाँध हेरेर तिनीहरूले पहिले नै लगभग १६ प्रतिशत पानी भण्डारण क्षमता गुमाइसकेको पत्ता लगाएका छन्।
उनीहरूको अनुमानअनुसार यदि निर्माण दर समान गतिमा जारी रहे यो शताब्दीको मध्यमा लगभग २६ प्रतिशतमा बढ्ने छ।
नदीले प्राकृतिकरूपमा ल्याउने बालुवा सिमसार र तटमा जम्मा हुने र यसले बाँध र पानी प्रवाहलाई बाधा पुर्याउने देखिएको छ। लेदोे जमेर निर्माण हुने संरचनाले बिस्तारै पानीका लागि ठाउँ कम गर्छ।
धेरैका लागि भविष्यको पानी आपूर्तिको दिगोपन खतरामा पर्छ भने सिँचाइ र ऊर्जा उत्पादनमा जोखिम खडा गर्छ। सेडिमेन्टेसन जलासय आयोजनाको एउटा ठूलो मुद्दा हुन पुगेको छ। २०५० सम्म दसौं हजार ठूला बाँध आफ्नो इच्छित आयुको नजिक पुग्ने शोधकर्ताको दाबी छ।
विश्वका ६० हजार ठूला बाँध (१९३० देखि १९७०) बीचमा निर्माण गरिएका हुन्। ती बाँध ५० देखि १ सय वर्षसम्मका लागि डिजाइन गरिएका थिए। त्यसपछि ती बाँधले काम नगर्ने जोखिम हुनसक्छ।
बाँधमा बालुवा र माटोको सतह बढेपछि जलाशय आयोजना नदी प्रवाहीमा रुपान्तरण हुनेछ। जसले विश्वको आधाभन्दा बढी जनसंंख्यालाई असर गर्छ, जो तल्लो तटीय क्षेत्रमा बस्छन्। थ्री गर्जेज निर्माण १९९४ मा सुरु भएको थियो। इन्जिनियरिङका हिसाबले यो बाँध नमुना छ।