काठमाडौं। क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ र अनलाइन जुवा जस्ता कानुनी मान्यता नपाएका मौद्रिक उपकरणको प्रयोग बढ्न थालेको छ। प्रतिबन्धित अनलाइन प्रविधिमार्फत हुने कारोबारमा नेपाल १६ औं स्थानमा रहेको प्रतिवेदन सार्वजनिक भएसँगै कानुनले बर्जित गरेको अनलाइन मौद्रिक उपकरणको प्रयोग बढेको देखिन्छ।
नेपाल दूरसञ्चार प्राधिकरणले मौद्रिक उपकरणका रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ र डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको बताएको छ। नेपालमा वेबसाइट र एप सञ्चालनबाट कारोबार भइरहेको निश्कर्ष प्राधिकरणको छ। प्राधिकरणले यस्ता वेबसाइट र एप सञ्चालन गर्न नमिल्ने व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन पनि दिएको छ।
पछिल्लो समय अनलाइन कारोबार बढ्दै गएपछि प्राधिकरणले फेरी अग्रसरता लिएको हो। छोटो समयमा धेरै कमाउने लोभमा पनि नेपालमा क्रिप्टोकरेन्सी र अनलाइन जुवामा कतिपय मानिसको आकर्षण बढिरहेको हुनसक्ने प्राधिकरणको अनुमान छ।
दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी र बिटक्वाइन लगायतका गैरकानुनी कारोबार हुने वेबसाइट, एप र अनलाइन कारोबार रोक्न निर्देशन दिएसँगै भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङका बारे फेरि छलफल हुन थालेको छ।
भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिमार्फत हुने मौद्रिक कारोबार नेपालमा बढ्दै गएको प्राधिकरणले उल्लेख गरेको छ। यता नेपाल राष्ट्र बैंकले २०७४ सालमै क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई अवैध घोषणा गरेको छ।
भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङ कारोबार अहिले विश्वव्यापी समस्या बन्दै गएको छ। क्रिप्टोकरेन्सीले अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीलाई चुनौती दिइरहेको छ।
नेपाल, बंगलादेश, चीन, कतार, मोरक्को, इराक, इजिप्ट, अल्जेरिया र ट्युनिसियालगायत अधिकांश मुलुकमा क्रिप्टोकरेन्सी कारोबार प्रतिबन्धित छ। भारतले आंशिक रुपमा क्रिप्टो कारोबार खुला गरेको छ।
कोइनडेस्क नामक वेबसाइटका अनुसार सन् २०२२ को ग्लोबल क्रिप्टो एडप्सन इन्डेक्सको आधारमा नेपाल क्रिप्टोकरेन्सीको कारोबारमा विश्वभरि १६औं स्थानमा छ। नेपालमा प्रतिबन्धित भए पनि क्रिप्टोकरेन्सीलगायत अनलाइन कारोबार धेरै भइरहेको संकेत गरेको अध्ययनले गरेको छ। ब्लकचेनसम्बन्धी डेटा विश्लेषण गर्ने कम्पनी ‘चेनएनलिसिस’ले उक्त इन्डेक्स प्रकाशित गरेको हो।
उक्त कम्पनीका अनुसार उसले विश्वका ७० वटा जति मुलुकमा सरकारी तथा आर्थिक निकायका लागि डेटा, अनुसन्धान सहितको सेवा प्रदान गर्दै आएको छ।
यता दक्षिण अमेरिकी मुलुक एल साल्भाडोरले क्रिप्टोकरेन्सीलाई मुद्रासरह कानुनी मान्यता दिएको छ। सेवाप्रदायकले अवरोध गरिदिए पनि वेबसाइट र एप्लिकेसनहरू भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) बाट खोल्न मिल्ने भएकाले क्रिप्टोकरेन्सी र अनलाइन जुवा पूर्णतः नियन्त्रण गर्न भने असम्भव हुने यस क्षेत्रका जानकारहरुको भनाइ छ।
क्रिप्टोकरेन्सी भर्चुअल मुद्रा हो। जसको अस्तित्व अनलाइनमा मात्रै सीमित छ। भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ।
यो मुद्राको केन्द्रीय बैंकका साथै नियमन गर्ने कुनै निकाय स्थापना भएको छैन। संसारभरिका कम्प्युटरमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ। क्रिप्टोकरेन्सीको प्रयोग गरी सरसामान खरिद गर्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत डिजिटल वालेटमा राख्न सकिन्छ।