माघ १ गते आइतबार यती एयरलाइन्सको ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजको जहाज पोखरा सेती खोंचमा दुर्घटनाग्रस्त हुँदा चालकदलका चार र ६८ यात्रु गरी सबै ७२ जनाको मृत्यु भयो। यतीको जहाज दुर्घटनापछि हवाई सुरक्षाका विषयमा पुनः एकपटक चासो र चिन्तामात्र बढेको छैन, विभिन्न अनुमान लगाउने काम भइरहेका छन्। गत जेठ १३ गते यतीकै भगिनी वायुसेवा तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटना हुँदा २२ जनाको ज्यान गएको थियो।
दुर्घटनाकै दिन आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा हवाई विज्ञ नेपाली सेनाका अवकासप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकासप्राप्त क्याप्टेन सुनिल थापा, एरोनटिकल इन्जिनियर एकराजजंग थापा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहने गरी पाँच सदस्यीय आयोग गठन गरेको छ।
गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ अनुसार गठित दुर्घटना जाँच आयोगलाई प्रतिवेदन बुझाउन ४५ दिनको समय दिइएको छ।
२०१२ साल वैशाखमा भारतको कलिंगा एयर सिमरामा पहिलो दुर्घटना भएयताका ६८ वर्षमा नेपालमा भएका दर्जनौं जहाज तथा हेलिकोप्टर दुर्घटनामा करिब १ हजार मानिसको मृत्यु भएको देखिन्छ। अधिक जहाज दुर्घटनाले मानवीय क्षति त भएको छ नै अर्बौं रुपैयाँबराबर भौतिक क्षति पनि भएको छ।
नेपालमा भएका दुर्घटनामध्ये साना जहाजको हिस्सा अधिक छ। अझ आइतबार दुर्घटनामा परेको एटिआर जहाज सुरक्षितमध्येमा पर्दछ। समय–समयमा हुने हवाई दुर्घटनाका कारण नेपालको हवाई क्षेत्रलाई असुरक्षित मानिँदै आएको छ। युरोपेली आयोग (ईयु) ले नेपालको हवाई सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै करिब एक दशकदेखि सुरक्षा चासो सूची (कालोसूची) मा राखिरहेको छ।
बढ्दो हवाई दुर्घटनाकै कारण अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले पनि हवाई सुरक्षाका विषयमा विशेष चासो राखेर ध्यान दिँदै आएको छ। आइकाओले केही समयअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कालोसूचीबाट हटाएको थियो।
हरेक हवाई दुर्घटनापछि छानबिन समिति/आयोग बन्दा राज्यको ध्यान हवाई उड्डयनमा मात्रै केन्द्रित भएको भनेर आलोचना हुने गर्दछ। सडक र हवाई दुर्घटना केलाउने हो भने अझ भयावह स्थिति सडक दुर्घटनाको देखिन्छ। पछिल्लो एक दशकको तथ्यांकअनुसार दैनिक आठजनाको ज्यान सडक दुर्घटनाका कारण जाने गरेको छ।
हवाई दुर्घटनामा पर्नेले बिमावापत ठूलो रकम (आन्तरिकमा २० हजार अमेरिकी डलर अर्थात करिब २५ लाख रुपैयाँ) पाउने भए पनि सडक दुर्घटनामा पर्नेले निकै थोरै (१ लाख रुपैयाँ) मात्रै प्राप्त गर्ने स्थिति छ। सडक दुर्घटनामा मर्नेको मूल्य नहुने रहेछ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य गरिएको पाइन्छ।
सडक दुर्घटना नियमित निरन्तरता जस्तो देखिन्छ भने हवाई दुर्घटनाले विश्वको ध्यान आकृष्ट गर्दछ किनभने हवाई यात्रालाई संसारकै सबैभन्दा सुरक्षित यात्रा मानिन्छ। हवाई क्षेत्रले पर्यटन उद्योगमा योगदान गर्दछ र हवाई दुर्घटनाले पर्यटक आवागमनलाई प्रभावित बनाउँछ। अझ मुलुककै दोस्रो ठूलो पर्यटन गन्तव्य पोखरा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गन्तव्य बनाएर उडेको जहाज त्यही विमानस्थल नजिकै ठूलो दुर्घटनामा पर्नुले पर्यटन क्षेत्र नराम्ररी प्रवावित हुने सम्भावना छ।
सडक दुर्घटना चालक, सवारीसाधन, यात्रु, सडक पूर्वाधार तथा मौसमका कारण हुने गरेको छ। हवाई दुर्घटना पनि लगभग तिनै कारण संलग्न हुन्छन्, खाली सडक पूर्वाधारका ठाउँमा हवाई रुटले ठाउँ लिन्छ। सडक सुरक्षा सुधारका लागि जनचेतना, सडकको अवस्था सुधार, सवारी र लापरबाहीको नियमित जाँचमा वृहत्तर पहल आवश्यक भएजस्तै हवाई सुरक्षामा पनि नियमित जाँच, मौसम आँकलन, हवाई नियम परिपालना मुख्य हुन्।
हरेक हवाई दुर्घटनासँगै सरकारले पटक–पटक छानबिन समिति/आयोग गठन गर्ने गर्दछ। ती समिति/आयोगले दुर्घटना न्यूनीकरणका लागि उपाय पनि सुझाउँछन्। तर, न प्रतिवेदन सार्वजनिक हुन्छन्, न कार्यान्वयन नै। जसले गर्दा दुर्घटना कम हुनुको सट्टा झन् बढ्दो चक्र देखिन्छ। सरकार र सम्बन्धित सरोकारवाला निकायहरू आगामी दिनमा यस्ता घटना हुन नदिन जिम्मेवार ढंगले प्रस्तुत हुनु जरुरी छ।
(क्यापटिल बिजनेस म्यागजिनबाट)