एजेन्सी। युरोपेली केन्द्रीय बैंक (इसीबी) का प्रमुख क्रिस्टीन लेगार्डले युरो क्षेत्रको अर्थतन्त्र यस वर्ष सुरुमा सोचेभन्दा निकै राम्रो देखिएको बताएकी छन्। डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा लेगार्डले भनिन्, 'पछिल्ला केही हप्तामा आर्थिक सुधारको पाटो निकै सकारात्मक भएको छ।'
जर्मनीजस्ता केही ठूला अर्थतन्त्रले संकुचनलाई पूर्णतया पन्छाउँदै २० राष्ट्रको समूहमा मन्दीको चर्चाबीच ‘सामान्य संकुचन’ देखिएको उनले बताइन्।इसीबीले सन् २०२३ मा युरो क्षेत्रमा ०.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको छ।
'त्यसैले, यो एक शानदार वर्ष होइन, तर यो हामीले सोचेको भन्दा धेरै राम्रो छ,' लेगार्डले भनिन्। गत वर्ष युक्रेनमा भएको युद्धका कारण बढेको ऊर्जाको मूल्य घट्न थालेपछि सुधारको आशा देखिएको हो।
हल्का जाडो मौसमले पनि ग्याँसको अभावको डरलाई कम गर्न मद्दत गरेको छ। कम ऊर्जा लागतले युरो क्षेत्रको मुद्रास्फीति अक्टोबरमा १०.६ प्रतिशतमा पुगेको भएपनि गिरावट ल्याउन योगदान पुर्याएको छ।
उपभोक्ता मूल्य वृद्धि डिसेम्बरमा ९.२ प्रतिशतमा खुम्चिएको छ, जसले मुद्रास्फीतिले अन्ततः आफ्नो चरम सीमा पार गरेको आशालाई बढावा दिएको छ। तर लेगार्डले मुद्रास्फीति अझै पनि ‘धेरै उच्च’ रहेको बताएकी छन्।
इसीबीले मुद्रास्फीतिलाई नियन्त्रण गर्न आक्रामक रूपमा ब्याज दरमा वृद्धि गरिसकेको छ र जुलाईदेखि यसको प्रमुख दरहरू २.५ प्रतिशत बिन्दुले बढाएको छ।
लेगार्डले मुद्रास्फीतिलाई ईसीबीको दुई प्रतिशतको लक्ष्यमा फर्काउनका लागि थप ब्याज दर वृद्धि हुने दोहोर्याइन्। 'हामी कोर्समा रहनेछौं,' लेगार्डले भनिन्। रासस