काठमाडौ। सामाजिक एवं एनआरएनए अभियन्ता नन्दबहादुर क्षेत्री 'नेत्र' मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त भएका छन्।
पर्यटन क्षेत्रमा खेलेको भूमिका र निरन्तरताका कारण मन्त्रस्तरिय निर्णयअनुसार सरकारले उनलाई चार वर्षका लागि मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको हाे। क्षेत्रीलाई पर्यटन मन्त्रालयले नियुक्ति पत्र मलेसिया नै पठाएको थियाे।
क्षेत्रीले लामो समयदेखि गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग आबद्ध रहँदै नेपालको पर्यटन क्षेत्रबारे देश तथा विदेशमा सकारात्मक सन्देश प्रवाह गर्ने काम गर्दै आएका छन्।
नियुक्ति पत्र वितरणपछी पर्यटन सचिव सुरेश अधिकारीले लामो समयदेखी पर्यटन क्षेत्रमा लागि पर्दै आएका क्षेत्रीलगाएतलाई सरकारले टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको बताए। सचिव अधिकारीले यो क्षेत्र झनै विस्तार र बलियो हुने विश्वास व्यक्त गरेर नै मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा क्षेत्रीलाई नियुक्त गरेको बताए।
नियुक्ति पत्र प्राप्त गरेपछी क्षेत्रीले राज्यले आफूमाथि विश्वास गरेर दिएको जिम्मेवारीलाई मुलुकको हित र प्रवासी नेपालीको साथ लिदै सजकताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारलाई आफूलाई उक्त जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै आफूले वर्षौदेखी मलेसियामा रहेर पर्यटन क्षेत्रमा सँगालेको अनुभवलाई प्रयोग गर्ने बताए।
सन् २००५ देखि अहिलेसम्म मलेसियामा रहेका क्षेत्री ट्राभल्स, टुर्सलगाएतका व्यवसायमा आबद्ध रहेका छन्। हाल क्षेत्रीले मलेसियामा एनएचएस भ्याकेसन ट्राभल्स एन्ड टुर्स एसडिएन बिएचडी, नाफ्टर प्रेस्टो क्याफे, नाफ्टर ग्लोवल रिसोर्सेज एसडिएन बिएचडिलगाएत व्यावसाय सञ्चालन गरिरहेका छन्।
एनआरएनए पर्यटन प्रवर्द्धन कमिटीको सदस्यसमेत रहेका क्षेत्री टुरिजम क्षेत्रमा विशेष दख्खल राख्ने र यो विधामा पोख्त प्रवासी नेपालीको पहिचान बनाएका व्यक्तिका रुपमा मलेसियामा चिनिन्छन्। महाभूकम्प र कोभिडका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई लयमा ल्याउन विश्वमा धेरै पर्यटक आउने देश मलेसियालगायतका मुलुकमा एनआरएनएको साथमा क्षेत्रीले गरेका कामको प्रंशसा गरिएकाे छ।
विदेशमा रहेर पनि विभिन्न क्याम्पेन गरेर नेपालको टुरिजम क्षेत्रलाई प्रचार प्रसार गर्ने मामिलामा अहोरात्र खटिएका क्षेत्रीलाई पर्यटन मन्त्रालयले उचित सम्मान दिएको छ। क्षेत्रीले नेपालको टुरिजम क्षेत्रलाई दिएको योगदानको कदर गर्दै नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त गरेको जनाइएको छ।
क्षेत्रीले आफूले छिट्टै मलेसियाली नागरिकलाई नेपाल भ्रमणमा पठाउनका लागी विभिन्न कार्यक्रम गर्ने बताए। आफ्नो अभियानमा साथ दिन क्षेत्रीले मलेसियामा रहेको नेपाली दुतावास, एनआरएनए मलेसिया, समस्त नेपाली संघ संस्था र नेपालीलाई अनुरोध गरेका छन्।