काठमाडौं । ई–सेवाले मधेस प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । यो सँगै ई–सेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ ।
हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा कार्यालयसम्म आफ्नो उपस्थिति जनाएको ई–सेवाले आफ्ना सेवा र सुविधालाई अझ सुविधापूर्ण र सरलीकृत गर्दै अगाडि बढ्ने उद्देश्यका साथ क्षेत्रीय कार्यालय विस्तार गरेको कम्पनीले जनाएको छ ।
प्रादेशिक कार्यालय जनकपुरको मिल्स् एरियामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घााटन गरे ।
अबदेखि दुई नम्बर प्रदेशका ग्राहक तथा एजेन्टहरूले ई–सेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशिक कार्यालयमार्फत सहज ढंगले प्रयोग गर्न पाउनेछन् ।
देशभर १ लाख ६५ हजारभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा करिब १ करोड ७० लाख जनसंख्याले सेवा लिइरहेको कम्पनीले जनाएको छ । ई–सेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको छ ।
ई–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क आदि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।