काठमाडौं। सेरामिक्स नेपालको निकै पुरानो व्यवसाय हो। यो व्यवसाय हाम्रो पहिचान पनि हो। सेरामिक्सका सामग्रीहरु अन्य धातूजन्य सामग्रीको तुलनामा निकै स्वस्थ्यवर्धक मानिन्छ। तर पछिल्लो समय यो व्यवसाय लोपोन्मुख अवस्थामा रहेको छ भने यसको प्रयोग पनि घट्दै गएको छ। तर भक्तपुरका लक्ष्मीकुमार प्रजापतिले सेरामिक्सलाई ‘ठिमी सेरामिक्स’ मार्फत व्यवसायिक रुपमा सञ्चालन गरिरहेका छन्।
‘ठिमी सेरामिक्स’ यस्तो कम्पनी हो, जसले कप, कचौरा, आदि सजावटीका वस्तु बनाउँछ। पैतृक व्यवसायको रुपमा रहेको याे कम्पन्नी सन् १९८५ देखि सञ्चालनमा आइरहेको छ। माटो, ढुंगाजस्ता वस्तुको मिश्रणबाट सबै खालका सजावटका वस्तु बनाउने काम ठिमी सेरामिक्समा हुने लक्ष्मीकुमार प्रजापति बताउँछन्। उनले बनाएको सामग्री नेपालदेखि युरोपसम्म पुग्ने गरेको छ।
प्रजापतिको यस व्यवसायले अन्य देशबाट आयात हुने सजावटका सामानलाई विस्थापन गर्न सक्छ। यही लक्ष्यका साथ सेरामिक्सले नेपालमै यी वस्तुको उत्पादन गर्न र बजारीकरणका लागि काम गरिरहेको छ। स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै गुणस्तरीय वस्तुहरुको उत्पादन गर्दै आएका छन्। उनीहरुले बनाएका सामग्रीहरु हाल होटल तथा रेस्टुरेन्टमा पनि प्रयोग हुँदै आएका छ।
परम्परागत विधिबाट उत्पादन गरिने सेरामिक्सजन्य उत्पादनहरुमा फूल रोप्ने गमला, हाँडी, घैँटो, बत्ती बाल्ने पाला लगायत रहँदै आएका छन्। यसैगरी आधुनिक शैलीमा परिमार्जन गरी तयार गरिएका माटोका कप, गिलास, चियादानी तथा अन्य थुप्रै सजावटका वस्तुसमेत सेरामिक्सअन्तरर्गत नै पर्छन्। नेपालमा अहिले पनि ठूलो परिमाणमा आकर्षक डिजाइनका कप र प्लेट भारत, चीन लगायतका वाह्य बजारबाट नेपालमा भित्रिइरहेका छन्। यस्ता सामान नेपालमा पनि बनिरहेका छन्।
आकर्षक डिजाइनका यस्ता सामान नेपालमै उत्पादन गर्ने कार्यमा अग्रणी स्थानमा रहँदै आएको एक कम्पनी हो ‘ठिमी सेरामिक्स’। झन्डै डेढ करोड जति लगानी भइसकेको र औषतरूपमा वार्षिक सवा करोडको सामग्री उत्पादन हुने प्रजापति बताउँछन्। ‘सन् १९८२ मा यसबारे हामीले तालिम लिने मौका पाएका थियौं,’ प्रजापतिले भने ‘त्यसपछि दुई जना दाजुभाई मिलेर यो व्यवसायलाई अघि बढाइरहेका छौं।’
उनकाअनुसार त्यतिबेला यो व्यवसायअघि बढाउन निकै कठिन थियो। नयाँ भएको कारणले यसका लागि आवश्यक सामग्री जुटाउन, डिजाइन तयार गर्न तथा निर्माण गरेका सामग्री बिक्री गराउन निकै कठिन थियो। तर त्यो कठिनतालाई छिचोल्दै हालको अवस्थामा यो व्यवसाय ल्याएको उनी सम्झन्छन्। आफ्नो बुबाको इच्छा पनि यो व्यवसायलाई अघि बढाउने रहेकाले यस व्यवसायलाई अघि बढाउन पाउँदा खुसी लागेको उनी बताउँछन्। यस व्यवसायलाई बढाउँदै बजारको विस्तार गर्दै विश्व समुदायमा पुग्ने र नेपालको आयात बढाउँदै धेरैलाई रोजगारी सिर्जना गर्ने सोच रहेको उनी बताउँछन्।