काठमाडौं। हुन त जनवरी महिनालाई पर्यटन क्षेत्रमा ‘अफसिजन’ का रूपमा लिइन्छ। खासगरी विदेशी पर्यटक अंग्रेजी नयाँ वर्षका लागि आफ्नै देश बस्ने भएका कारण नेपाल आउनेको संख्या कम हुने गर्छ। त्यही भएर जनवरीलाई अफसिजन मानिएको हो।
तर, पछिल्लो समय अफिसिजनमा नेपाल घुम्न आउने भारतीय पर्यटक संख्या बढ्न थालेको छ। त्स्तै आन्तरिक पर्यटक पनि विभिन्न गन्तव्य घुम्न निस्किने भएकाले जनवरीमा पर्यटन गन्तव्यहरूमा चहलपहल बढ्ने गरेको छ।
आन्तरिक पर्यटकमध्ये अधिकांशको रोजाइ पोखरा हुने गरेको छ। पोखरा संघीय राजधानी काठमाडौंपछि मुलुककै दोस्रो ठूलो पर्यटन गन्तव्य हो। तर, माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनापछि त्यस क्षेत्रको पर्यटन सुस्ताएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उत्साहित बनेका पोखरेली पर्यटन व्यवसायीलाई यतीको उक्त घटनाले थप पीडा दिएको छ। अहिले जहाजमार्फत पोखरा घुम्न जानेको संख्या बिस्तारै ओरालो लाग्न थालेको छ।
अहिले पोखरा घुम्न आउन अग्रिम बुकिङ गरिएका केही होटलमा बुकिङ रद्द गरिएको सम्बद्ध व्यवसायीको जानकारी दिएका छन्।
‘काठमाडौंबाट जहाज चढेर पोखरा घुम्न आउन अग्रिम बुकिङ गरेका स्वदेशी तथा विदेशी पर्यटकले माघ १ को जहाज दुर्घटनाबाट उत्पन्न त्रास भुल्न नसकेकै कारण धमाधम बुकिङ रद्द गर्न थालेका छन्,’ पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले क्यापिटल नेपालसँग भने।
सडक पूर्वधार राम्रो नभएकै कारण अधिकांशले हवाई मार्गबाट यात्रा गर्ने गरेका छन्। माघ १ को घटनाले पर्यटन क्षेत्रमा नकारात्मक असर पुगेको उनले बताए।
दुर्घटना के कारणले भयो भन्ने प्रतिवेदन सार्वजनिक हुन अझै सवा महिना बाँकी छ। तर, हवाई यात्रामा जोखिम रहेको विश्लेषण यात्रुबाट हुन थालेका कारण पोखरा आउने पर्यटक संख्या दिनहुँ घट्न थालेको उनको बुझाइ छ।
‘सरकारले सडक पूर्वधार व्यवस्थित बनाउन नसकेकै कारण धेरैले हवाई यात्रा गर्नुपरेको हो,’ अध्यक्ष भट्टराईले भने, ‘हवाईसँगै सडक यात्रा ससरक्षित बनाउन सरकार नलागे त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रले भोग्नुपर्छ।’ नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका पूर्वसदस्य एवं बाराही ग्रुपका सञ्चालक विप्लव पौडेलले यतीको जहाज दुर्घटनापछि पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको बताए।
दुर्घटनामा परेर भारतका पाँच पर्यटकको मृत्यु भएसँगै भारतीय मिडियाले पनि प्राथमिकतासाथ समाचार प्रकाशन गरेका थिए। जसको असर त्यहाँबाट नेपाल आउन चाहने पर्यटकमा समेत परेको उनको भनाइ छ। अहिले भारतबाट गाडीमा आउने पर्यटक संख्यामा भने कमी आइनसकेको उनले बताए।
‘विदेशीले बुकिङ गरेका होटलका केही कोठा रद्द गर्न थालेका छन्,’ पौडेलले भने, ‘सायद, यतीको जहाज दुर्घटनाको कारण हुनसक्छ।’ त्यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका पूर्वअध्यक्ष एवं रानिवन एक्रिड होटलका सञ्चालक हरि भुजेलले जहाज दुर्घटनाको असर पर्यटन क्षेत्रमा परेको बताए।
‘यो घटनाका कारण केही होटलका बुकिङ रद्द गरिएको जानकारी आएको छ,’ उनले भने, ‘मेरो होटलमा भने अहिलेसम्म त्यस्तो स्थिति आइसकेको छैन।’