काठमाडौं। बिहारको प्लान्ट मर्मतपछि विद्युत् आपूर्ति नियमित भइसक्दा पनि औद्योगिक क्षेत्रमा गरिएको अघोषित लोडसेडिङ निरन्तर कायम छ।
नेपाल विद्युत् प्राधिकरणले बिहारको प्लान्ट मर्मतपछि विद्युत् आपूर्ति सहज हुने र औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ अन्त्य गरिने भनेको थियो। तर, आइतबार नै बिहारको प्लान्टबाट नियमित विद्युत् आपूर्ति भए पनि औद्योगिक क्षेत्रमा गरिएको लोडसेडिङ समयावधि अझै बढाइएको छ।
एक साताअघिसम्म बिहारको प्लान्ट मर्मतलाई देखाएर प्राधिकरण सहजै उम्किएको थियो। बिहारको प्लान्टमर्मत सकिएर विद्युत् आपूर्ति नियमित भइसकेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए। बिहारबाट निर्वाध रुपमा बिजुली आयात भइरहेको छ। तर, त्यति बिजुली आएर नेपालको वर्तमान माग सम्बोधन नहुने उनको भनाइ छ। अहिले नेपालको उत्पादन ८ सय १० मेगावाट छ। माग १६ सय मेगावाटमाथि छ।
उद्योगीका अनुसार अहिले देशैभर औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु भइसकेको छ। भैरहवाबाट लोडसेडिङ सुरु भएको थियो। त्यसलगत्तै पाेखरा औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरू हुन थालेको छ। त्यसपछि वीरगन्ज, हेटौडामा ९ घण्टामाथि लाेडसेडिङ सुरु भएको थियो। प्राधिकरणले अहिले पूर्वमा पनि ९ घण्टा लोडसेडिङ सुरु गरेकाे छ।
अहिले निर्माणजन्य उद्योगको माग बिस्तारै बढ्दै गएको छ। लामो समयदेखि शिथिल रहेको अर्थतन्त्र चलायमान भएसँगै समानको माग बढिरहेका बेला प्राधिकरणले लोडसेडिङ सुरु गरेको छ। जसका कारण औद्योगिक उत्पादन ठप्प भएको उद्योगी शशिकान्त अग्रवाल बताउँछन्।
प्राधिरकरणका प्रवक्ता भट्टराईले औद्योगिक क्षेत्रमा भएको लोडसेडिङ तत्काल अन्त्य नहुने बताए। ‘प्राधिकरणले उद्योगीलाई २४ सै घण्टा बिजुली दिन्छौ भनेर औठा छाप लगाएको छैन,’ उनले क्यापिटल नेपालसँग भने, ‘हुँदा दिने हो,नभएको बेला कसरी दिनु ?’ अहिले प्राधिकरणले प्रतियुनिट १९.२० रुपैयाँ (१२ भारु) मा बिजुली किनेर उद्योगलाई दिइरहेको बताएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहारको प्लान्ट मर्मत हुनासाथ नेपालका उद्योगले भोगेको लोडसेडिङको समस्या अन्त्य हुने बताएका थिए। ‘तर, बिहारबाट आउने जति बिजुली आइरहेको छ, खै त नेपालको समस्या समाधान भएको?’ अग्रवालले प्रश्न गरे।
पूर्वमा बिहान ६ देखि ९ र बेलुका ५ देखि १० बजेसम्म लोडसेडिङ छ। त्यसैगरी, पोखरामा बिहान ६ देखि ८ र बेलुका ५ देखि १० बजेसम्म लोडसेडिङ छ। भैरहवामा बिहान ६ देखि १० र बेलुका ५ देखि ९ बजेसम्म लोडसेडिङ छ। वीरगन्जमा बिहान ६ देखि १० र बेलुका ५ देखि १० सम्म लोडसेडिङ छ। मंगलबार बिजुलीको माग १ हजार ७९६ मेगावाट पुगेको थियो। सोही दिन प्राधिकरणले ४२७ मेगावाटसम्म बिजुली आयात गरेको छ।