काठमाडौं । नेपाल राष्ट्र बैंकले एक दर्जन विकास बैंकसहित वित्त कम्पनीलाई नगद जरिवाना गरेको छ । राष्ट्र बैंकले अनिवार्य नगद मौज्जात, विपन्न कर्जा र कर्जा निक्षेप अनुपात (सिडी रेसियो) कायम नगर्ने कम्पनीलाई नगद जरिवाना गरेको हो ।
आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा अनिवार्य मौज्जात नगरेको प्रोग्रेसिभ फाइनान्सलाई भदौमा २३ हजार १ सय ८८ रुपैयाँ जरिवाना गराएको छ । त्यसैगरी नेपाल फाइनान्स, जानकी फाइनान्स र समृद्धि फाइनान्सलाई सिडी रेसियो कायम नगरेपछि जरिवाना लगाएको छ ।
नेपाल फाइनान्सलाई साउनमा सिडी रेसियो कायम गर्न नसक्दा १९ हजार ३ सय ३० रुपैयाँ र भदौमा १ लाख ६५ हजार ५ सय ८४ रुपैयाँ, जानकी फाइनान्सलाई साउनमा ६ लाख ५५ हजार १९३ रुपैयाँ र भदौमा ६ लाख ३७ हजार ७ सय ९९ रुपैयाँ र समृद्धि फाइनान्सलाई भदौमा ८० हजार ७ सय ४४ रुपैयाँ जरिवाना गराएको छ ।
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्टलाई चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विपन्नवर्ग कर्जा प्रवाह नगर्दा १ लाख ५२ हजार ९ सय २९ रुपैयाँ जरिवाना गरेको छ । यस बैंकले अनिवार्य मौज्दात नपुगेको राष्ट्र बैंकले जनाएको छ ।
अनिवार्य मौज्दात नपुगेपछि राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई दुई पटक गरी ३३ हजार बढी जरिवाना गराएको छ । त्यसैगरी सालपा विकास बैंकलाई ३ सय ५३ रुपैयाँ जरिवाना गरेको छ । सिडी रेसियो कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, र सप्तकोसी डेभलपमेन्ट बैंकलाई जरिवाना गरेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकलाई साउनमा सिडी रेसियो मेन्टेन नगरेपछि २० लाख १३ हजार र भदौमा २३ लाख १४ हजार ४ सय ९३ रुपैयाँ, सिन्धु विकास बैंकलाई साउनमा १ लाख २६ हजार भदौमा १६ लाख ९९ हजार १ सय ५१ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकलाई साउनमा ४ लाख ६३ हजार र भदौमा ५ लाख १६ हजार रुपैयाँ, र सप्तकोसी डेभलपमेन्टलाई साउनमा २१ लाख ८० हजार र भदौमा २८ लाख ९७ हजार जरिवाना गरेको छ ।