काठमाडौं। प्राविधिकाे विकासका कारणले अहिले कृषि पेसामा नयाँ-नयाँ प्रविधि प्रयोग भइरहेका छन्। नयाँ प्रविधिको प्रयोगले किसानलाई कृषि व्यवसाय गर्न निकै सहज हुन्छ भने समय, खर्च र जनशक्तिको पनि बचत हुन्छ। अन्य देशहरुमा निकै कम मानिस कृषि पेसामा आबद्ध हुन्छन् तर प्रविधि तथा मेसिनको प्रयोगले ठूलो मात्रामा उत्पादन गर्छन्।
नेपालको ठूलो जनसंख्या कृषि पेसामा आबद्ध छ। तर प्रविधि र मेसिनको प्रयोग गर्न नसक्दा उत्पादन कम भएको छ भने कृषिजन्य सामग्रीमा पनि देश आत्मनिर्भर बन्न सकेको छैन। नेपालको कृषि पेसालाई सहज, सरल, उत्पादनमुलक र कम खर्चिलो बनाउनका लागि मेसिनको प्रयोग गर्नु अत्यावश्यक छ।
यही विषयलाई ध्यानमा राखेर झापाका सौरभसिंह चौधरी र सुवासकुमार महत्तोले ‘राइस ट्रान्सप्लान्टर’ (धान प्रत्यारोपण) गर्ने मेसिन उत्पादन गर्ने काम गरिरहेका छन्। किसानका लागि थप पहुँच योग्य र किफायती बनाउने लक्ष्यकासाथ यो मेसिनको डिजाइन पहिले नै स्थानीय रूपमा उपलब्ध सामग्रीसँग बनाइएको छ।
राइस ट्रान्सप्लान्टर एक धान रोप्ने मेसिन हो, जसले एक बिघा जमिनमा ३.५ घण्टामा धान रोप्ने काम गर्न मद्दत गर्छ। यसमा दुई जनामात्र मानिस लाग्छ। उनीहरुले पहिलो प्रोटोटाइप चैत्र महिनामा घरको ग्यारेजमा लकडाउनको समयमा बनाएका थिए। जसले पहिलो पटक परीक्षण गर्दा ३२ सेकेन्डका लागि मात्र काम गरेको थियो।
उनीहरू धान प्रत्यारोपणको दोस्रो प्रोटोटाइपमा विगत ७ महिनादेखि राष्ट्रिय आविष्कार केन्द्रमा काम गरिरहेका छन्। दोस्रो प्रोटोटाइप पूरा भएर परीक्षण गरिएपनि अझै केही परिमार्जनर गर्न बाँकी रहेको सौरभसिंह चौधरीले बताए। उनीले यही वर्षको फागुनसम्म मेसिन परीक्षण गरी बजारमा ल्याउने तयारीका साथ काम गरिरहेका छन्। ‘हाल देशैभरबाट अर्डर आउँछन् तर उत्पादन र वितरण रोकेका छौं,’ चौधरीले भने ‘गुणस्तर सुनिश्चित भएपछि मात्र यसलाई बजारमा लैजाने हाम्रो योजना छ।’
गुणस्तरीय मेसिन निर्माण गरी देशका किसानलाई सहज रुपमा खेती गर्ने वातावरण तयार गर्ने मुख्य योजनामा उनीहरुको छ। मेसिनको प्रयोग गरी उत्पादन बढाई कृषिमा क्रान्ति ल्याउने योजना उनीहरुले बनाएका छन्। उनीहरूले विकास गरेको मेसिनले समय, श्रम र पैसाको बचत गर्नुको साथै सम्झौताको आधारमा मेसिन प्रयोग गर्न चाहनेहरूका लागि अतिरिक्त आम्दानी गर्ने पनि उनीहरु बताउँछन्। यो मेसिन किसानहरुको सारथी र आम्दानी बढाउने मुख्य श्रोत बन्ने उनीहरुको दाबी छ।