म्याग्दी। पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन्।
विद्युत र इन्धनबाट चल्ने त्यस्ता उपकरणले मानिसको श्रमशक्ति घटाएको छ भने समय र खर्चको पनि बचत गरेको छ। आधुनिक सामग्रीको विकास भएपनि कतिपय ठाउँमा अझै परम्परागत सामग्रीको प्रयोगमा कमी आएको छैन।
जिल्लाको मंगला गाउँपालिका–२ सिममा रहेको उखु पेल्ने कोलको लोकप्रियता कायमै छ। विसं २०१९ मा स्थानीयवासी खगेन्द्र केसीले कोल स्थापना गरेका थिए। हाल काठमाडौंमा बस्दै आएका उनले अहिले छिमेकी र घरकुरुवालाई कोल सञ्चालनको जिम्मा लगाएका छन्।
‘५० वर्षअघि जसरी उखु पेल्न आउने गर्दथे अहिले पनि त्यस्तै छ,’ खगेन्द्रका छिमेकी समेत रहेका आफन्त दिपक केसीले भने , ‘उखु पेल्ने आधुनिक मेसिन विकास भएपनि यो कोलको महत्व र प्रयोग कायमै छ।’
बेनी–दरवाङ सडकको छेउमै रहेको खगेन्द्रको घरमा हरेक वर्षको पुष र माघ महिनामा कोल जडान गरिन्छ। सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट कृषकहरु आउने गरेका छन्। कोलमा उखु पेले वापत १५ लिटर बराबर रु ८० शुल्क तोकिएको छ। उखु पेल्न पालो लगाउनुपर्छ।
‘कोलमा पेल्दा धेरै रस आउने, शुद्ध र राम्रो हुन्छ,’ मंगला–५ सिर्कुमकी लिलावती सापकोटाले भने, ‘कोलमा पेलेको उखुको रस स्वस्थकर पनि हुन्छ। त्यही भएर डेढ घण्टा हिडेर उखु पेल्न आएको हो।’
कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ। मंगला गाउँपालिका–५ पिपलबोटकी चन्द्रकली सापकोटाका अनुसार चिनीको उपलब्धता नहुँदा गाउँघरमा गुलियोगका लागि खुदो प्रयोग हुन्थ्यो। ‘खुदोलाई पूजाआजामा पनि प्रयोग गरिन्छ,’ उनले भने, ‘तत्कालीन चिनी पाइदैनथ्यो। गुलीयो बनाउन खुदो चाहिन्थ्यो।’
मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ। गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन्। फलामको कोलको बीचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ। कोल चलाउन दुईदेखि तीन जना जनशक्ति आवश्यक पर्छ।