काठमाडौं। अमेरिकाको सहयोगमा स्थापना भएको मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए नेपाल) ले परामर्शदाता नियुक्तिको प्रक्रियाअघि बढाएको छ। एमसिएले प्रशारण लाइन र सबस्टेसन निर्माणको सुपरीवेक्षणका लागि परामर्शदाता नियुक्त गर्न लागेको हो।
एमसिए नेपालले परामर्शदाता नियुक्तिका लागि बुधबार विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) को आह्वान गरेको छ। एमसिए–नेपालले राजधानीको लप्सिफेदीदेखि बुटबलसम्म ३१४ किलोमिटर प्रशारण लाइन बनाउन ४०० केभी प्रशारण लाइन बनाउन ग्लोबल टेन्डरको आह्वान गरिसकेको छ।
यस्तै ३ वटा ४०० केभी क्षमताको सबस्टेसन बनाउन पनि ग्लोबल टेन्डरको आह्वान भएको छ। अहिले आयोजनाको कार्यान्वयन सुरु गर्नुअघि कार्यक्रमको तयारीको चरणमा छ। प्रशारण लाइन र सबस्टेसन गतिविधिको निर्माण सुपरीवेक्षणका लागि परामर्श सेवा सुरू गर्न लागेको एमसिए नेपालले जनाएको छ।
खरिद प्रक्रिया एमसिसी कार्यक्रम प्रोक्युरमेन्ट गाइडलाइन्स (पिपिजी) अनुसार गुणस्तर र लागतमा आधारित छनोट गरिने एमसिए नेपालले जनाएको छ। इच्छुक निर्माण कम्पनीले लिखित आवेदन पेस गर्नुपर्ने बताइएको छ। आवेदन दिने कम्पनीलाई एमसीए नेपालले थप विवरणसहित जानकारी गराउने जनाएको छ। आवेदन दिने अन्तिम म्याद २०२३ मार्च ९ सम्म छ।
एमसिए नेपालले प्रसारण लाइन निर्माणका लागि मंसिरमा ठेक्का आह्वान गरिसकेको छ भने सबस्टेसन र सडकको लागि फागुनमा ठेक्का आह्वान गर्ने तयारी छ। एमसीसी नेपाल कम्प्याक्टको व्यवस्थापन गर्न विकास बोर्ड ऐन, २०१३ अन्तर्गत गठन गरिएको नेपाल सरकारको एजेन्सी हो।
नेपालमा लागू गरिएको एमसिए नेपाल परियोजना अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीिसी) को ५० करोड अमेरिकी डलर (५५ अर्ब रुपैयाँ) अनुदान कार्यक्रम हो। जसमा नेपाल सरकारबाट थप १३ करोड अमेरिकी डलर थपेर ५ वर्ष भित्र विद्युत् र सडकको क्षेत्रमा काम गर्ने योजना छ। परियोजनाको लागत सडकसमेत गरी ७० अर्ब रुपैयाँ छ। परियोजनाअन्तर्गत दाङको धानखोलादेखि शिवाखोलासम्म ७७ किलोमिटर लामो सडक निर्माण पनि समावेश गरिएको छ।
उक्त परियोजनाले बिजुलीको उपलब्धता र विश्वसनीयता बढाउने, सडकको गुणस्तर कायम राख्ने, विद्युतीय व्यापारलाई सहज बनाउन लगानीलाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई गति दिन र नेपालको गरिबी घटाउने लक्ष्य राखेको छ।