काठमाडौं । मानिसहरू सहर–बजारमा बसाई सर्ने लहर चलिरहेको छ। सबै मानिसहरू सहरतर्फ लागेर कतिपय गाउँहरू भने रित्तिएको अवस्थामा पनि पुगेका छन्। सहरमा आएर आर्थिक उपार्जनको बाटो खोजिरहेका मानिसहरूले गाउँमै पर्याप्त उत्पादन र आम्दानी हुने खेतबारी बाँझो छोडेर आउने गरेका छन्।
मानिसहरू गाउँमा बस्न छोडेसँगै पशुपालन व्यवसाय हुन छाडेको छ। पशुपालन व्यवसाय नभएसँगै गाउँमा रहेका घाँसे मैदान र खरबारीहरू पनि प्रयोगविहीन हुन पुगेका छन्। हाल गाउँमा कृषि तथा पशुपालन गर्न निकै सहज वातावरण सिर्जना भएको छ।
कास्कीका बलराम पौडेलले गाउँबाट सबै मानिसहरू सहरतिर लागेको र गाउँमा कृषि योग्य जमिन खेर गएको, खरबारीमा घाँस कुहिएर गएको अवस्था पाएपछि त्यसलाई उपयोग गर्ने सोच बनाए। त्यसपछि उनले गाउँमा नै कृषि पेसाबाट आम्दानी गर्ने उद्देश्यका साथ काम गरिरहेका छन्।
उनले सन् २०१४ देखि ‘मराम्चे कृषि फार्म’ सञ्चालन गरिरहेका छन्। पौडेलद्वारा सञ्चालित मराम्चे अर्गानिक कृषि फार्म दूध उत्पादन गर्ने र गाईको गोबरलाई कम्पोष्ट (पाउडर फार्म)मा परिणत गर्ने कृषि फार्म हो। पौडेलले एउटा गाईबाट व्यवसाय सुरु गरेका थिए, अहिले उनको फार्ममा १५ गाई र अन्य पशुहरू पनि छन्।
उनले आफ्नो गाउँमा डेरी स्थापना गर्दै समुदायमा उद्यमशील इकोसिस्टमको विकास गर्दैछन्। उनले आफ्नो परिवारको साथमा अन्य केही ब्यक्ति राखेर काम गरिरहेका छन्। उनको घर भन्दा पारीपट्टीको डाँडामा खरबारी (घाँस) छ। उनले सो घाँस ल्याउन तारबाट तुइन जस्तो बनाएर उताबाट झुन्ड्याएर पठाउने काम गर्छन्। यसलाई थप व्यवस्थित गर्न सके एकैपटक धेरै घाँस आउने र थप गाईहरू पाल्न सहज हुने उनको भनाइ छ।
आफ्नो यो व्यवसायलाई अघि बढाउन सस्तो दरमा ऋण उपलब्ध भएको खण्डमा यस व्यवसायलाई थप बढावा दिने उनको सोच छ। ‘गाउँ छोडेर बाहिरिएका मानिसलाई पनि गाउँमै केही गर्यो भने हुन्छ है भन्ने बनाएर देखाउनु छ,’ उनले भने, ‘यसर्थ म यसमा तल्लिन भएर लागेका छु। थप गाईहरू थप्दै उत्पादीत दूधलाई बजारसम्म पुर्याउन र दूधमा आत्मनिर्भर बन्नतर्फ अग्रसर हुने काममा म लाग्ने छु।’
गोबरलाई नयाँ नयाँ प्रविधि प्रयोग गरेर पाउडरको रुपमा उत्पादन गर्ने कामलाई थप मजबुद बनाउने सोचमा उनी छन्। आफ्नै गाईको गोबरलाई मलका रूपमा प्रयोग गरेर खेती गरेको र बाहिरका कुनै प्रकारका मल प्रयोग नगर्ने भएकाले अन्न पनि अर्गानिक उत्पादन हुने गरेको छ। नयाँ–नयाँ प्रविधि प्रयोग गरेर गाई व्यवसाय बढाउने सोच उनको छ।