काठमाडौं। म्यानपावर व्यवसायमा आबद्ध डोलप्रसाद अर्याललाई श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिएको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ।
म्यानपावर व्यवसायीलाई नै श्रम मन्त्रालयको जिम्मेवारी दिएपछि पीडितहरुलाई झनै पिडा थप्ने र व्यवसायीको हकहितमा मात्र लाग्ने भन्दै अनेकन टिकाटिप्पनी भइरहेको बेला उनको बचाउमा वा पक्षमा लाग्नेहरु पनि धेरै देखिन थालेका छन्।
जसले वैदेशिक रोजगार क्षेत्रका बारेमा बुझेको हुन्छ, उनैलाई जिम्मेवारी दिएपछि राम्रो हुन्छ भन्ने तर्क दिनेहरु पनि भेटिन थालेको छ। यसैबीचमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत नवनियुक्त श्रममन्त्री अर्यालको बचाउ गर्दै स्टाटस लेखेका छन्।
उनले भनेका छन्- देशको अर्थतन्त्र अप्ठ्यारो पर्दा हामी रेमिट्यान्सलाई स्याबासी दिन्छौं तर रेमिट्यान्स पठाउने श्रमिकको सम्मान गर्दैनौं। अनि रेमिट्यान्स पठाउने श्रमिकलाई जागिरलगाइ दिने म्यानपावर व्यवसायीलाई कदर गर्दैनौं। म्यानपावर व्यवसायीले बिगत ३० वर्षदेखि लाखौं नेपाली श्रमिकलाई विदेशमा जागिर मिलाइ दिएको छ। हाल बिदेशमा करिब ३५÷४० लाख नेपालीहरु कार्यरत छन्।
सरकारले रेमिट्यान्समार्फत प्राप्त रकम (डलर) प्रयोग गरी पेट्रोल, ग्यास र विदेशी सामान किनिरहेको छ। साथै हाल रेमिट्यान्स नेपालको अर्थतन्त्रको मेरुदण्ड बनेको छ। बेरोजगारी समस्या समाधान हुनुका साथै गाउँ सहरमा चोरी डकैती घटेको छ।
आर्थिक उन्नति सँगै धेरैले घरको छानादेखि परिवारको नाना फेरेको छ। स्वास्थ समाज र शिक्षित पुस्ता बढेको छ। भूकम्पले धरहरा ढल्दा अनि कोभिडले विश्व डगमगाउँदा खाडी र मलेसियाका नेपाली श्रमिकले रेमिट्यान्स पठाएर नेपालको अर्थतन्त्र ढल्न दिएनन्।
यहाँ रेमिट्यान्स पठाउने हिरोहरुलाई हाम्रो समाजले तल्लो दर्जा दिन्छन् । लाखौं बेरोजगार नेपालीलाई वैदेशिक रोजगार दिलाउने म्यानपावर व्यवसायीलाई दलाल भन्छन् ।
नवनियुक्त श्रममन्त्रीप्रति भएका टिप्पणीहरु हेरेँ। उहाँ जापानमा ८ वर्ष काम गरेको रे! रेमिट्यान्स कम्पनी चलाएको रे जापान कामदार पठाउने संस्थासँग जोडिएको रे! ट्राभल एजेन्सी चलाएको रे! के म्यानपावर व्यवसायी अथवा म्यानपावर ब्यबसायसग जोडिएको व्यक्ति मन्त्री हुनुहुँदैन? विदेशमा काम गरेको मान्छे मन्त्री बन्न हुँदैन ? उद्योगी व्यवसायी मन्त्री हुनुहुँदैन?
विदेशमा काम गरेको मान्छे अनि म्यानपावरसग जोडिएको मान्छेप्रति त्यत्रो घृणा किन ? घृणा लाग्छ भने सरकारलाई म्यानपावर कम्पनीको लाइसेन्स बन्द गर्न किन नलगाएको ? कोही विदेश जान्छाैं, भनेर हामी घरघरमा कसैलाई तान्न गएको छ ?
एउटै क्षेत्रसग जोडिएको व्यक्ति मन्त्री हुँदा स्वार्थ बाझिन सक्छ अनि आफ्नै पक्षमा मात्र निर्णय गर्छन् कि भन्ने चिन्ता कसैलाई लागेको हो भने हामी सबैले खबरदारी गरिरहौं र काम हेरौं १ अनावश्यक बिरोध बन्द गरौं । सायद उनले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र मर्यादित गर्न राम्रै योजनासहित काम गर्नुहुन्छ कि?
नवनियुक्त श्रममन्त्री अर्यालज्यूलाई सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाई व्यक्त गर्दछु।