काठमाडौं। पत्रकार ज्ञानेन्द्र खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुदन किराँतीको वास्तविक परीक्षा अब सुरु भयो। यसअघि पर्यटन मन्त्रालय सम्हालेका अधिकाशं मन्त्रीहरु बदनाम भएर बाहिरिएका छन।’ सम्भवतः पत्रकार खड्का पनि भोजपुरकै भएकाले पनि उनले आफ्नो गृहजिल्लाका मन्त्री राईलाई विवादितको बिल्ला नभिरून भन्ने उद्देश्य राखेर यस्तो सुझावसहितको सुभकामना दिएको हुनुपर्छ।
पत्रकार खड्काले सामाजिक सञ्जालमा लेखेजस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका अधिकाशं मन्त्रीको बिदाई विवादमै फसेको देखिन्छ। एकाध मन्त्री बाहेक अधिकाशं मन्त्री विवादमा पर्ने गरेकाले पनि पहिलो पटक मन्त्री बनेका किराँतीलाई चुनौतीका पहाडमा उक्लिन लागेकोमा बधाई दिएको हुन सक्छ। खड्काले मात्र हैन, उनलाई बधाई दिने अधिकाशंले चुनौतीका पहाडका बीचमा जिम्मेवारी लिएको उल्लेख गरेका छन्।
उसैपनि पर्यटन मन्त्रालय विवादमा आइरहने मन्त्रालयभित्र पर्छ। खासगरी राष्ट्रिय ध्वजाबाहक नेपाल वायुससेवा निगम, हवाई उड्डयन क्षेत्रको नियामकीय निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा होस या सरकारी स्वामित्वमा रहेको विभिन्न संस्थानसहित हायात रिजेन्सी होटल सञ्चालनको विषयलाई लिएर पर्यटनमन्त्री विवादमा तानिदै आएका छन्। जुन विषयबाट टाढा रहनका लागि मन्त्री किराँतीलाई ठूलो चुनौती देखिदै आएको छ।
अधिकाशं मन्त्रीले शपथसँगै पदभारग्रहणको क्रमममा नेपाल वायुसेवा निगमलाई सुधार गर्ने, प्राधिकरणमा नियुक्तीलाई चुस्त बनाउनेदेखि विभिन्न संस्थानहरुलाई सबल बनाउने प्रतिबद्धताहरु आउने गरेको छ। जुन, मन्त्री किराँतीले पनि गरेका छन्। तर, उनलाई पनि आफुले गरेको र अरुले भनेका प्रतिबद्धताहरुलाई पूरा गर्ने दौडमा लाग्दा विवादमा नपर्लान भन्न सकिदैन।
खासगरी अहिले सर्वोच्च अदालतको अन्तरिम अल्पकालिन आदेशमार्फत काममा फर्किएका निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.धनन्जय रेग्मीलाई व्यवस्थापनको विषय चुनौती रहँदै आएका छन्। यसअघिको सरकारका पर्यटन मन्त्री प्रेमबहादुर आलेले बर्खास्त गरेका अध्यक्ष अधिकारी र सिइओ रेग्मीलाई हाल पर्यटन मन्त्रालयका गतिविधिहरुबाट बाहिर राखिदै आएको छ। सिइओ रेग्मीलाई यसअघिका मन्त्री जीवनराम श्रेष्ठले केहि साथ दिएपनि पर्यटन मन्त्रालयका कर्मचारीहरुले भने पूर्ण रुपमा साथ दिएको पाइदैन।
जसको कारण निगम र पर्यटन बोर्डलाई लामो समयदेखि पर्यटन मन्त्रालयमा हुने अधिकाशं कार्यक्रममा निम्तोसमेत दिइदैन थियो। जुन कार्य अहिले पनि कायम छ। जसको कारणले निगम र बोर्डले लिनुपर्ने गतिमा ब्रेक लाग्दै आएको छ। सर्वोच्चको आदेशमा फर्किएकालाई काममा लगाउनेदेखि मन्त्री र मन्त्रालयको योजना अनरुपका कार्यहरु गर्न चुनौतीपूर्ण देखिन्छ।
धेरै मन्त्रीहरुको ध्यान निगम भित्रको चलखेलमा हुने गरेको छ। यदि, मन्त्री किराँतीले विगतका मन्त्रीहरुको छविबाट पार लगाउँदै नयाँ रेखा कोर्ने हो भने तत्कालै निगमलाई निजीकरण वा बाह्य व्यवस्थापन ल्याउन आवश्यक छ। यो दुवै काम गर्नका लागि मन्त्री किरातीलाई फलामको चिउरा चपाउनु सरह नै हुने छ। लामो समयदेखि घाटामा रहँदै आएको निगम सुधारका लागि धेरै अध्ययन समिति गठन भएर प्रतिवेदनहरु बनिसकेको छ। त्यसैले अब अध्ययनका लागि समितिहरु गठनमा लाग्नु भन्दा भएका प्रतिवेदनहरुलाई कार्यान्वयनमा जान आवश्यक देखिन्छ। जुन मन्त्री किरातीका लागि चुनौतीको विषय हो।
नेपाल पर्यटन बोर्ड विगत केहि वर्षदेखि भद्रगोल अवस्थामा पुगेको छ। प्रतिस्पर्धामार्फत नियुक्त भएका सिइओ रेग्मीलाई पर्यटन मन्त्रालयकै केही कर्मचारी र बोर्डका केही सञ्चालकको स्वार्थ अनुकूल सञ्चालन गर्न खोजेकै कारण विवादमा पर्दै आएको देखिन्छ। पर्यटन क्षेत्रका लागि केही गर्न खोज्ने सिइओ रेग्मी, पुरानै ढर्रामा चलाउनुपर्छ भन्ने धारणाका पर्यटन मन्त्रालय र बोर्डका सदस्यको कारण बोर्ड अनियन्त्रित भएको देखिन्छ। कोभिडले थला परेको पर्यटनलाई विश्व बजारमा नेपालबारे प्रचारप्रसार गर्ने प्रमुख जिम्मेवार निकाय पर्यटन बोर्ड नै यति बेला सुस्ताएको छ। त्यसैले यी विषयलाई पनि मन्त्री किरातीले वारका पार गरेर द्रुत गतिमा काम गर्नका लागि धेरै चुनौती पार गर्न आवश्यक छ।
योसँगै नागरिक उड्डयन प्राधिकरणले भरखरै मात्र सञ्चालनमा ल्याएको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि समेत चुनौती छ। अहिले दुवै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शून्य अवस्थामा छ। अर्बौको ऋणमा बनेको विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान नहुनु भनेको दुर्भाग्य हो। त्यसैले पनि यथाशिग्र सम्बन्धित निकायसँगको छलफलमा ती विमानस्थललाई पूर्ण रुपमा चलाउनुपर्ने देखिन्छ। अहिलेकै अवस्थामा मन्त्री किरातीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्छु र तत्कालै शिल्यान्यास गर्छु भनेर अन्य मन्त्रीहरुले जस्तै प्रचारबाजीमा नलागेकै बेस देखिन्छ। पहिला भएका विमानस्थललाई पूर्ण रुपमा चलायमान भएपछि मात्र अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकार लाग्नु पर्ने देखिन्छ।
को हुन मन्त्री किराँती
प्रदेश नम्बर १ का पूर्व मुख्य मन्त्री शेरधन राइलाई पराजीत गरेका किराँती २०३५ सालमा भोजपुरमा जन्मिएका हुन्। उनको बुबा हर्कबहादुर राई बेलायती लाहुरे हुन्। बुबा लाहुरे भएपनि उनले त्यसप्रति कुनै चासो नदेखाउदै राजनीतिमा होमिएका हुन्। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका किराँती पछि माओवादीमा प्रवेश गरेका हुन्। २०७२ सालमा एमाओवादीको पोलिटब्युरो सदस्य र भोजपुर इन्चार्ज बनेका मन्त्री किराँती २०६४ सालको संविधानसभा निर्वाचनमा शेरधन राईलाई हराएका थिए। पछि २०७० मा शेरधनसँग हारेका उनी २०७४ र ७९ मा भोजपुरबाटै संघीय संसदमा निर्वाचित भएका हुन्।