काठमाडौं । नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मन्त्री भएकाहरुले मंगलबार राष्ट्रपति कार्यालयमा शपथ लिएका हुन् ।
शपथ लिनेमा नेकपा एमालेबाट डा। विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती रहेका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका छन् भने अन्य मन्त्रीको विभागीय कार्यभार तोक्न बाँकी रहेको छ ।
माओवादी केन्द्रबाट रेखा शर्मा, अमनलाल मोदी, सुदन किराती र सुशीला श्रीपालीले शपथ लिएका छन् ।
शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री, मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएका छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीमा अध्यक्ष राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे, कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान र उर्जा राज्यमन्त्रीमा दीपक सिंहले शपथ लिएका छन् ।
रास्वपाबाट डोलप्रसाद अर्याल श्रम, शिशिर खनाल शिक्षा र तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेका छन् । यीनीहरुले पनि शपथ लिएका छन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।