पोखरा। फुर्सद भयो कि सेती खोंचमा माछा मार्न जाने कुमार आलेको बानी थियो। आइतबार बिहान साढे १० बजेतिर उनी सधैंजसो बल्छी बोकेर माछा मार्न खोंच झरे। नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उनको कानमा नराम्रोसँग ठोक्कियो। एकैछिन दिमागमा सन्नाटा छायो।
'केही सोच्नै नपाउँदै एकाएक ढुङ्गा खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए', त्यो दिनको घटना सम्झँदै ३७ वर्षे उनले भने, 'ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन।'
यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो। ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए। उनी पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनि ओत लागे। 'कसैले बम पड्काएको हो कि भन्ने लाग्यो,' उनले सुनाए, 'ढुङ्गा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटोछिटो उकालो लागेँ।'
केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिए। उनलाई तबमात्रै जहाज दुर्घटना भएको रहेछ भन्ने यकिन भयो। 'बुढापाकाहरु काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो', उनले भने, 'आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचें।'
खुट्टा र पिठ्युँमा लागेको चोट देखाउँदै आलेले भने, 'धन्न ढुङ्गा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्युँमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ।'
आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्छन्। त्यहीँकै राम ब्लक उद्योगमा चालकका रूपमा काम गर्न थालेको १० वर्ष भयो। तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन्। 'भगवानले मलाई बचाउनुभयो, नत्र श्रीमती र बालबच्चाको के हाल हुन्थ्यो होला?,' उनी भन्छन्।
अहिले आले टाउकैमाथि जहाज खस्दा पनि बाँच्न पाएकोमा भगवानलाइ धन्यवाद दिँदै बसेका छन्। 'यो त मेरो ठूलो भाग्यो हो, म बाँचें तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन,' उनले भने।
पोखरा महानगरपालिका-१५ स्थित सीतारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेती खोँचमा आइतबार करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटनामा ७० जनाको शव फेला परेको छ । बाँकी दुई जनाको खोजी अझै जारी छ।
घटनास्थलबाट निकालिएका शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोस्टमार्टम भवनमा राखिएको छ। अस्पताल स्रोतका अनुसार काठमाडौं शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलीको नेतृत्व र पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्थाका फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ।
सनाखत गर्न मिल्ने शवको परिवारसँग ‘भेरिफाइ’ को काम भइरहेको छ। भेरिफाइपछि शवको पोस्टमार्टम सुरु भएको छ। थप सनाखत गर्नुपर्ने देखिएका डिएनए परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए।
उनका अनुसार ४६ जनाको शव काठमाडौं पठाउनुपर्ने र बाँकी २३ जनाको पोखरामै पोस्टमार्टम गरी आफन्तलाई बुझाइने छ।