काठमाडौं। सडक विभागले ललितपुर सातदोबाटो र एकान्तकुनामा निर्माण गर्न लागेको ‘अन्डरपास’ र ‘फ्लाइओभर’ का लागि अर्थ मन्त्रालयसँग बजेट मागेको छ।
गत वैशाखमा दुवै स्थानको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएपछि स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।
केन्द्रले एक महिनाअघि बजेट माग गर्दै पठाएको फाइल सडक विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेको छ। उक्त फाइलमा आवश्यक प्रक्रिया पूरा गरी अर्थमा पठाउने तयारी रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए। डिपीआर तयारीपछि केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मै अर्थसँग बजेट माग प्रक्रिया अगाडि बढाएको थियो। तर, आर्थिक वर्षको अन्त्यमा बजेट व्यवस्थापनमा समस्या भएपछि केन्द्रको फाइल फिर्ता भएको थियो।
त्यसपछि चालू आर्थिक वर्ष २०७९/८० मा फेरि स्रोत सुनिश्चितताका लागि अर्थमा आग्रह गर्नुपरेको केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सौरभ बज्राचार्यका अनुसार सातदोबाटो र एकान्तकुनामा अन्डरपास तथा फ्लाइओभर बनाउन १ अर्ब ३४ करोड २० लाख रुपैयाँ लाग्ने छ। उक्त रकम अर्थले उपलब्ध गराए निर्माणका लागि ठेक्का आह्वान गर्न सकिने छ।
अर्थले मौखिकरूपमा स्रोत सुनिश्चितताका लागि बजेट व्यवस्थापन गर्न सक्ने बताएपछि फाइल पठाइएको बज्राचार्यले बताए। ‘यो वर्ष हामीलाई फ्लाइओभर तथा अन्डरपासका लागि २५ करोड बजेट आएको छ, त्यसमध्ये १७ करोड रुपैयाँ ग्वार्कोमा खर्च भयो,’ सिडिई बज्राचार्यले क्यापिटल नेपालसँग भने, ‘बाँकी पैसाले मात्रै पुग्दैन, त्यसैले बजेट मागेका छौं।’
उनका अनुसार स्रोत सुनिश्चितता भए निर्माणका लागि विकास केन्द्रले ठेक्का आह्वान गर्ने छ। यसअघि ललितपुर महानगरपालिकाले सातदोबाटो र एकान्तकुनाको सम्भाव्यता अध्ययन गरेको थियो। त्यसपछि विकास केन्द्रले डिपिआर अध्ययन गरेर बजेट मागेको हो। सातदोबाटो र एकान्तकुना दुवैमा सवारीचाप अत्यधिक हुने गर्छ। तै पनि दुवै चोक नजिकै रहेकाले केही स्थानमा अन्डरपास र केही स्थानमा फ्लाइओभर निर्माण गर्ने योजना विकास केन्द्रको छ।
दुवै चोकमा निर्माण कार्य एकै चरणमा गरिए पनि डिजाइन भने छुट्टाछुट्टै तयार भएको बज्राचार्य बताउँछन्। ‘बजेट व्यवस्थापन भए निर्माणका लागि ठेक्का आह्वान गर्न सक्ने तयारी हाम्रो छ,’ उनले भने, ‘ठेक्का सम्झौता भएको तीन वर्षमा निर्माण पूरा हुनेछ ।’
कहाँ–कहाँ हुँदैछ निर्माण र अध्ययन?
– ग्वार्कोमा फ्लाइओभर निर्माण चरणमा
– सातदोबाटो र एकान्तकुनाको डिपिआर तयारपछि बजेट माग
– नयाँबानेश्वरमा डिपिआर अध्ययन हुँदै
– बल्खुमा अध्ययन तायारी
जाइकाको अध्ययन कहाँ पुग्यो?
कोटेश्वर र जडीबुटीमा जापानी सहयोग नियोग (जाइका) ले अध्ययन गर्दैछ। विकास केन्द्रका अनुसार नयाँबानेश्वरमा अन्डरपास निर्माणको डिपिआर अध्ययन भइरहेको छ। आगामी चार महिनामा डिपिआरको प्रतिवेदन आउने छ। प्रतिवेदनले लागतसहित निर्माण समयावधि, लम्बाइ, उचाइलगायत विस्तृत विवरण समेट्ने छ।
त्यस्तै बल्खुमा पनि अन्डरपास वा फ्लाइओभर निर्माण गर्ने विषयमा अध्ययन गर्ने तयारी केन्द्रको छ। बल्खुमा डिपिआर अध्ययन गर्न छिट्टै ठेक्का आह्वान हुने केन्द्रको भनाइ छ। हालसम्म सरकारले काठमाडौं उपत्यकाभित्र सातदोबाटो, एकान्तकुना, बल्खु र नयाँबानेश्वरमा आफ्नै लगानीमा फ्लाइओभर र अन्डरपास निर्माणका लागि अध्ययन अगाडि बढाएको छ। ग्वार्कोमा भने नेपालकै पहिलो फ्लाइओभर निर्माण गर्न आरसी, समानान्तर र रेलिग्रेन कम्पनीले जिम्मेवारी पाएका छन्।
जडीबुटि र कोटेश्वरमा भने जाइकाले अध्ययनको काम सुरु गरेको भौतिक मन्त्रालयले जनाएको छ। कोटेश्वरको अध्ययन चलिरहे पनि जडीबुटीमा भने जग्गाका कारण अध्ययनमा समस्या देखिएको मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताए। ‘सवारीचापका आधारमा त जडीबुटीमा फ्लाइओर वा अन्डरपास अत्यावश्यक नै हो,’ उनले भने, ‘तर, अहिलेसम्म जाइकाले अध्ययन गर्नेमात्रै कुरा छ। निर्माणको विषय प्रवेश भएको छैन।’