काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा सञ्चालित एटीआर-४२ र एटीआर-७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको जनाएकाे छ। प्राधिकरणले साेमबार विज्ञप्ति जारी गर्दै ती जहाजमा कनै त्रुटी फेला नपरेकाे जनाएकाे हाे। आइतबार पाेखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि प्राधिकरणले सबै जहाजको परीक्षण गरेकाे थियाे।
जहाज दुर्घटनापछि प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुबाट नेपालमा सञ्चालित सम्पूर्ण एटीआर-४२ र एटीआर-७२ वायुयानहरूको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको पनि प्राधिकरणले जनाएको छ। परीक्षणका क्रममा उक्त वायुयानमा कुनै प्राविधिक त्रुटि फेला नपरेको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
प्राधिकरणले वायुयानको नियमित उडान योग्यताका लागि दैनिक गरिने निरीक्षण, उडानपूर्व गरिने निरीक्षण, निश्चित अन्तरालमा गरिने सेड्युल इन्सपेक्सन जस्तामर्मत सम्भारका कार्य अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको जनाएकाे छ।
आइतबार बिहान त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो। ७२ जना सवार जहाजमा ६९ जनाकाे शव भेटिएकाे छ भने ३ जनाको खोजी कार्य जारी छ।
त्यस्तै प्राधिकरणले आइतबार पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै दुर्घटनाका सम्बन्धमा प्राधिकरण केही उच्चपदस्थ पूर्वकर्मचारी तथा अन्य व्यक्तिबाट भएको टिकाटिप्पणी तथा अभिव्यक्तिका कारण सर्वसाधारणमा भ्रम फैलिएको प्राधिकरणले जनाएको छ।
'दुर्घटनाका सम्बन्धमा प्राधिकरणका केही उच्च पदस्थ पूर्वकर्मचारी तथा अन्य व्यक्तिहरूबाट विभिन्न सामाजिक सञ्जाल, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनलगायतका सञ्चारमाध्यममा दिइएका धारणा, टिकाटिप्पणी तथा अभिव्यक्तिहरुका कारण सर्वसाधारणमा भ्रम सिर्जना हुन गएको प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको,' विज्ञप्तिमा उल्लेख छ।
दुर्घटनाबारे प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय समेत) मार्फत प्राप्त हुने सूचना तथा जानकारीलाई मात्र आधिकारिक मान्न पनि प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणअनुसार दुर्घटनाको छानबिनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेको मापदण्ड र सिफारिस तथा गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७४ बमोजिम नेपाल सरकारबाट उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेर काम सुरू गरिसकेकाे छ ।