काठमाडौं। सवारीसाधन आयात प्रतिबन्ध खुलेको एक महिना बितिसकेको छ। तर प्रतिबन्ध खुलेको महिना दिनसम्ममा पनि नयाँ गाडी भित्रिन सकेका छैनन्।
सवारीसाधनमा आयातमा लागेको आठ महिना लामो प्रतिबन्ध फुकुवा भएसँगै पुस पहिलो सातादेखि नै केही मात्रामा भए पनि प्रतीतपत्र (एलसी) खुलाउन सुरु गरिएको थियो। तर, एलसी खुलेको महिना बितिसक्दा पनि नेपालमा गाडी भित्रिन सकेका छैनन्।
सरकारले विदेशी मुद्रा सञ्चितिमा समस्या आएको भन्दै गत वैशाख १३ देखि लगाएको प्रतिबन्ध पुस १ बाट फुकुवा गरेको थियो। विदेशी मुद्रा सञ्चितिमा केही सुधार आएको र आयात प्रतिबन्धका कारण सरकारको राजस्व संकलनमा व्यापक असर देखिएको भन्दै आयात प्रतिबन्ध फुकुवा गरेको थियो।
प्रतिबन्धबाट राजस्व संकलन प्रभावित भएपछि सरकारले गाडी आयात प्रतिबन्ध खुलाउने निर्णय गरेको थियो। तर, आयात खुलेको महिना बित्दा पनि सरकारले त्यसबाट पाउने राजस्व भने अझै नपाउने देखिएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा निकै कम मात्रामा भए पनि एलसी भने खुलिरहेको बताउँछन्।
‘अलिअलि भए पनि एलसी खुलिरहेको छ,’ अध्यक्ष थापाले भने, ‘तर, गाडी आउन भने अझै डेढ दुई महिना लाग्ने देखिन्छ।’ उनका अनुसार एलसी खुले पनि गाडी आयातमा भने अझै डेढदेखि दुई महिनासम्म लाग्ने देखिएको छ। तसर्थ, प्रतिबन्धमा परेका गाडी नेपाल भित्रिए त्यसको राजस्व प्राप्त गर्न सरकारले अझै केही समय कुर्नुपर्ने देखिन्छ।
‘हाम्रो नेपालमा सबैभन्दा छिटो गाडी आउने भनेको भारतबाट हो। भारतबाट आउन पनि कम्तीमा डेढ महिना लाग्छ,’ थापाले भने, ‘हाम्रा लागि भनेर बनाएर राखेको हुँदैन। हामीले एलसी खुलाएर अर्डर दिएपछि बल्ल उनीहरूले बनाएर पठाउने हो। यसकारण गाडी आउन समय लाग्छ। तर, कमर्सियल र विद्युतीय गाडी आइरहे पनि तर निजी गाडी आउन भने डेढ महिनाजति लाग्छ।’ उनका अनुसार हाल गाडी बिक्रीको वातावरण नबनेका कारण एलसी पनि कममात्रामा खुलेका छन्।
बैंकको ब्याजदर उच्च भएको, राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन सुधार गर्नुपर्ने, सवारीसाधन कर्जामा कायम गरिएको जोखिम भार र एलसी खोल्नुअघि नै आयातका लागि मार्जिन राख्नुपर्ने लगायत व्यवसायीका माग सम्बन्धित निकायले बेवास्ता गर्दा एलसी निकै न्यून संख्यामा खुलिरहेको हो। सरकारले माग पूरा नगरेसम्म उत्साहित ढंगले एलसी नखुल्ने उनले बताए।
त्यस्तै नाडाका उपाध्यक्ष सुनिल रिजालले पनि भन्सारमा थन्किएर रहेका पुराना गाडी नै भित्र्याउन नसकिएको अवस्थामा नयाँ गाडी आयात नहुने बताए।
‘आयात प्रतिबन्ध खुलेको महिना दिन बिते पनि गाडी भित्रिएका छैनन्,’ रिजालले भने, ‘बैंकको ब्याजदर उच्च रहेको तथा अन्य विविध विषय सुधार नआएसम्म गाडी भित्रिन सक्दैन।’ उनका अनुसार बैंकले ब्याजदर घटाएको खण्डमा र अटोमोबाइल व्यवसायीका माग सरकारले पूरा गरेमात्र गाडी भित्रिने र बिक्री वितरण हुने अवस्था बन्ने छ।
‘बैंकको ब्याजदर तथा राष्ट्र बैंकको नीतिका कारण पुराना गाडी नै बिक्री हुन सकेका छैनन्। नयाँ गाडी ल्याए पनि बिक्री हुने वातावरण छैन,’ उनले भने, ‘सोही कारण एलसी पनि नगन्यमात्रामा खुलेका छन्।’
गाडी बिक्री हुने वातावरण भयो भने एलसी खुल्ने प्रक्रियाले पनि गति पाउने र आठ महिनासम्म आयात प्रतिबन्धमा परेका गाडी धमाधम भित्रिने उनको भनाइ छ।
आयात प्रतिबन्ध खुलाउन अटोमोबाइल व्यवसायी आन्दोलनमा उत्रिएका थिए। आयात प्रतिबन्ध फुकुवा भए पनि व्यवसाय गर्ने वातावरण नभएको भन्दै व्यवसायीले आन्दोलन जारी राखेका थिए। तर, नयाँ सरकार आएपछि भने सरकारले आफ्ना माग पूरा गर्ने आश्वासन दिएको भन्दै व्यवसायी आन्दोलन स्थगित गरेर पर्ख र हेरको अवस्थामा बसिरहेका छन्।
यही विषयलाई लिएर केही दिनअघि नाडा टोलीले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेको थियो। त्यस्तै अटोमोबाइल व्यवसायीले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग पनि भेटेका थिए।
नाडाले १ सय ५० प्रतिशतमा पुर्याइएको जोखिमभार पहिलेकै अवस्थामा ल्याउनुपर्ने तथा ऋण प्रवाह र ब्याजदरलगायत विषयमा आफूहरूको माग सम्बोधन गरे व्यवसाय पुरानै अवस्थामा आउने बताउँदै आएका छन्। यी विषयमा सरकारले ध्यान दिए गाडी बिक्री हुने वातावरण बन्ने र सरकारलाई पनि राजस्व संकलनमा सहयोग पुग्ने व्यवसायीको भनाइ छ।
सरकारले गत वैशाखमा १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि भदौ १४ मा कुरकुरे, हिरालगायत ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल गरी चार वस्तु आयात प्रतिबन्ध यथावत राखेको थियो।
पुस १ बाट लागू हुनेगरी यी सबै वस्तुमाथिको प्रतिबन्ध खुलेको भए पनि अन्यको तुलनामा गाडी भित्रिन भने निकै समय लाग्ने देखिएको छ।