काठमाडौं । झापाका बेदनिधि चापागाईं र शकुन्तला प्याकुरेलले ‘नमुना सहकारी खेती’ मार्फत आफ्नो गाउँ क्षेत्रमा बसोबास गर्दै आएका कृषकहरूको संलग्नतामा अचार, दुग्धजन्य पदार्थ, बीउ उत्पादनलगायतका कृषिजन्य उत्पादनको काम गर्दै आएका छन् ।
‘नमुना सहकारी खेती’ एक कृषि व्यवसाय सहकारी संस्था हो, जसमा ८० भन्दा बढी घरपरिवार किसान सदस्य छन् । अहिले नमुना सहकारीले आ–आफ्नो समुदायका महिलाले बनाएका विभिन्न नौवटा घरेलु अचार उत्पादन गर्दै आएको छ ।
गएको २०७० सालदेख ८० कृषक परिवारको ५३ हेक्टर जमिन एकीकरण गरी नमुना सहकारी खेती सञ्चालनमा छ । खेतीमा यान्त्रीकरण भए सँगै खेतीमा आश्रित सदस्यहरूको रोजगार मेसिनले कार्य गर्न थालेपछि क्षणिक रूपमा बेरोजगारी सिर्जना भएको अवस्थामा उक्त खेतीबाट विस्थापित सदस्यहरूलाई अन्य रोजगारीको सिर्जना गर्नुपर्ने देखेपछि उनीहरूले यो व्यवसाय गर्न सुरु गरेका हुन् ।
उनीहरूले गाउँघरमा भएको कृषिजन्य कच्चा पदार्थको सदुपयोग गर्न २०७२ सालदेखि ६ जना महिलाको सक्रिय सहभागितामा सहकारी खेतीको सहयोगमा नमुना अचार लघु उद्योग सञ्चालनमा ल्याए जसले बजारमा अचारको माग अपूर्ति गर्नुका साथै विदेशबाट आयातित अचारलाई थोरै भए पनि विस्थापित गर्न सफल भएको उनीहरूको दाबी छ ।
‘हामीले यो व्यवसाय सञ्चालन गरदेखि स्थानीय किसानहरूको कृषिजन्य अचारसँग सम्बन्धित उत्पादनहरूको सदुपयोग सँगसँगै स्थानीय महिलाहरूको आयआर्जनमा सानै भए पनि रोजगारी सिर्जना भएको छ’ बेदनिधि चापागाईंले भने ।
आफूहरूको नमुना अचार लघु उद्योगको सफलता देखेर ५/६ जना महिलाहरूले नमुना चिप्स, उद्योग ६ जनाले नमुना दुग्ध परिकार निर्माण तथा बजारीकरणको थालनी गरेको उनी बताउँछन् ।
यसरी नमुना सहकारी खेतीले हिजो खेतीमा मात्र परिचालित स्थानीय युवा युवतीहरूलाई घरेलु उद्योगतिर उत्प्रेरित गर्दै उच्च मूल्यका बालीहरू उत्पादन, बीउमा पनी हाइब्रिड जातका बीउको उत्पादन गर्दै आएको छ ।
हाल नेपालमा हाइब्रिड मकैको बीउको माग २५०० मेट्रिक टन रहेकोमा उत्पादन तथा आपूर्ति १०० मेट्रिकटन मात्र रहेको र धेरै आपूर्ति वैदेशिक निर्भरतामा रहेको उनी बताउँछन् ।
आफूहरूले उत्पादनको काम गरे पनि बजारमा प्रयाप्त पहुँच पुर्याउन नसकेको अवस्था रहेको उनले बताए । महिला उद्यमीहरूका लागि सरल ब्याजदरको कर्जामा पहुँच, बजारीकरणमा साझेदारीको आवश्यक्ता रहेको र सरल कर्जाको खोजीमा आफूहरू रहेको उनले जानकारी दिए ।