काठमाडौं। क्रसर उद्योगहरु बन्द हुँदा काठमाडौं उपत्यकासहित देशभरिका प्रमुख सडक आयोजनाहरु प्रभावित भएको सडक विभागका महानिर्देशक (डिजी) अर्जुनजंग थापाले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै महानिर्देशक थापाले खनिजजन्य निर्माण सामग्रीहरु चन्द्रमाबाट ल्याउने योजना गर्नुपर्ने हो?भन्दै प्रश्नसमेत गरेका छन्।
गृह मन्त्रालयले पुस २० गते एक सूचना जारी गर्दै अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरु तत्काल बन्द गर्न निर्देशन दिएको थियो। गृहको निर्देशनपछि क्रसर उद्योगहरु धमाधम बन्द भइरहेका छन्।
महानिर्देशक थापाका अनुसार निर्माणाधीन नागढुंगा सुरुङमार्गको काम रोकिने सम्भावना बढेको छ। साथै सुरुङमार्ग निर्माण गर्दै आएको जापानिज निर्माण कम्पनी (हाज्मा–आन्द्रो जेभी) ले सरकारसँग हर्जाना दाबी गर्ने संकेत गरिसकेको छ।
सम्झौताअनुसार त्यसरी माग दाबी गरेको रकम दिनुपर्ने हुन्छ। जुन पैसा जनताबाट उठाएको करबाट भुक्तानी हुने डिजी थापाको भनाइ छ। खनिजजन्य पदार्थ नहुँदा नागढुंगा–नौबिसे–मुग्लिङ सडक विस्तार कार्यमा पनि असर गरेको छ।
त्यस्तै निर्माण व्यवसायीले किनेर आफ्नो क्याम्पमा राखेको वा एक ठाउँमा निर्माण सम्पन्न भएर बचेको बालुवा, ढुंगा र गिट्टीसमेत २/३ सय मिटर परको अर्को साइट लैजानसमेत बन्देज लगाइएको डिजी थापा बताउँछन्।
काम नगरी विदेशी निर्माण कम्पनीले नेपाली जनताको करको पैसा दाबी, क्षतिपूर्ति र हर्जाना बापत लिएर जानुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरेका छन्।