काडमाडौं। एउटा शालिन, भद्र र लामो अनुभव सँगालेका पाइलट। आफ्नो उमेरको दुई तिहाइ समय आकासमै बिताए। जीवनको ३५ वर्ष जहाज उडाए। हजारौं घन्टा निलो आकासमा उडे। एकपटक पनि सामान्य दुर्घटनासम्ममा परेनन्।
तर, भावीको लेखा यही नै थियो। उनी जुन दिन जीवनकै पहिलो दुर्घटनामा परे, त्यो नै उनको जीवनको अन्तिम र कहिल्यै फिर्ता नहुने दिन भइदियो।
उनी त्यही पाइलट कमल केसी हुन्, जसले आइतबार काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि यती एयरलाइन्सको ७२ सिट क्षमातायुक्त ‘एटिआर७२-५००’ सिरिजको जहाज उडाएर लगेका थिए।
र, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नै लाग्दा उनै पाइलट केसी दुर्घटनामा परे। उनलाई उडानमा साथ दिइरहेका थिए कोपाइलट अञ्जु खतिवडा तथा एयरहोस्टेसहरू सृजना होङचुन र ओसिन आले मगरले। अनि, साथमा थिए ६८ यात्रु।
क्याप्टेन केसीले उडाएको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आइतबारको छैठौं नम्बरको तालिकामा थियो। उनको जहाजभन्दा अघि अर्को वायुसेवा कम्पनी बुद्ध एयरले ७२ सिटकै एटिआर७२-५०० सिरिजका जहाजबाट पाँचवटा उडान गरिसकेको थियो।
बिहान ७ः२२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पहिलो उडान गरेको बुद्धले १० बजेसम्ममा पाँच उडान गरिसकेको थियो। पोखराको मौसम पनि बिहानैदेखि खुलेको थियो।
‘३५ वर्षअघि सन् १९८८ मा नेपाल वायुसेवा निगममा कोपाइलटबाट पाइलट करियर सुरु गरेका केसी सधैं उड्डयन नियम अक्षरशः पालना गर्थे,’ क्याप्टेन केसीसँग लगभग एक दशक सँगै जहाज उडाएका एक वरिष्ठ क्याप्टेनले आइतबार क्यापिटल नेपालसँग भने, ‘उनले उडाएको जहाज दुर्घटनामा परेको सुन्दा म त स्तब्ध भएँ। उनलाई झल्झली सम्झिरहेको छु। सायद, प्राविधिक कारण दुर्घटना भएको हुनुपर्छ। उनी गल्ती गर्ने पाइलटै होइनन्।’
केसीले १८ वर्ष नेपाल वायुसेवा निगममा जहाज उडाएका थिए। सुरुमा १९ सिट क्षमतायुक्त ‘ट्वीनअटर’ जहाजमा कोपाइलटबाट ‘करियर’ सुरु गरेका उनी त्यसपछि क्याप्टेन भएका थिए।
निगममा जहाज उडाउँदै जाने क्रममा केसी ट्वीनअटर जहाजको प्रशिक्षक (इन्स्ट्रक्टर) पाइलट बनेका थिए। तर, वायुसेवा निगममा करियर अगाडि बढ्ने नदेखेपछि केसीले सन् २००६ जुन-जुलाईतिर राजीनामा दिएर निजी वायुसेवा कम्पनी यती एयरलाइन्स प्रवेश गरेका थिए।
यतीमा उनी २९ सिट क्षमतायुक्त ‘जेटस्ट्रिम-४१’ (जे-४१) सिरिजको जहाजका क्याप्टेन भएर गएका थिए। त्यसको केही वर्षपछि यतीले सबै जे-४१ जहाज बिक्री गरेर ७२ सिट क्षमताका एटिआर७२-५०० जहाज प्रयोग गर्न थाल्यो।
एटिआर७२-५०० सिरिजका जहाजमा क्याप्टेन हुँदै प्रशिक्षक पाइलट बनेका केसी शालिन, भद्र र उड्डयन नीतिनियम अक्षरशः पालना गर्ने पाइलटका रूपमा कहलिएका थिए।
‘ककपिटभित्र बसेपछि कहिल्यै हतार नगर्ने, नियम हुबहु पालना गर्ने, कोपाइलटलाई सधैं सिकाउने, जुनियरहरूसँग कहिल्यै नरिसाउने र नझर्किने उनको बानी थियो,’ क्याप्टेन केसीसँग करिब १० वर्ष ककपिट ‘सेयर’ गरेका ती क्याप्टेनले भने, ‘उड्डयन जीवनकालमा सामान्य दुर्घटनामा समेत नपरेका उनी एकैचोटि पहिलो र अन्तिम दुर्घटनामा परे, र कहिल्यै नफर्किने गरी अस्ताए। नेपालको उड्डयन क्षेत्रका लागि यो अपूरणीय क्षति हो।’
आइतबार बिहान १०ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु बोकेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको यती एयरलाइन्सको १५ वर्ष पुरानो र दर्ता नम्बर ‘९एन-एएनसी’ भएको एटिआर जहाजका कमान्डर केसीले पोखरा विमानस्थल टावरसँग अन्तिमपटक १०ः५० बजे सम्पर्क गरेका थिए। लगत्तै उनको जहाज सेती खोंचमा खसेर दुर्घटनाग्रस्त भएको थियो।
उक्त दुर्घटनाबारे विभिन्न किसिमका अनुमान गरिए पनि दुर्घटनाको कारण ‘प्राविधिक’ थियो वा ‘मानवीय त्रुटि’ भन्ने जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभई यकिन भन्न सकिँदैन।
अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन जनवरी १ मा क्याप्टेन केसीले यही जहाज लिएर काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सफल ‘डेमोन्स्ट्रेसन’ उडान गरेका थिए।
५५ वर्षहाराहारी उमेरका क्याप्टेन केसीले अमेरिकाबाट पाइलट तालिम लिएका थिए। पोखरा जन्मथलो भएका केसीले अन्तिम सास पनि पोखरामै लिए। पाइलट भएपछि काठमाडौं बस्दै आएका केसीको बूढानीलकण्ठ हात्तीगौंडामा घर छ। उनका श्रीमती र दुई छोरा छन्।
पाइलट श्रीमानको मृत्युपछि आफैं पाइलट बनेकी थिइन् अञ्जु
यती एयरलाइन्सको आइतबार पोखरामा दुर्घटनामा परेको जहाजको कोपाइलट थिइन् अञ्जु खतिवडा। ४० वर्षहाराहारी उमेरकी अञ्जुले यो जहाज कोपाइलटका रूपमा उडाए पनि यती एयरलाइन्समा उनी क्याप्टेन थिइन्। हालै उनी कोपाइलटबाट क्याप्टेनमा पदोन्नति भएकी थिइन्।
अञ्जुको पनि सायद लेखान्त ‘दर्दनाक’ थियो। उनले आफ्ना श्रीमान क्याप्टेन दीपक पोखरेललाई पनि सन् २००६ मा जुम्लामा भएको यती एयरलाइन्सकै जहाज दुर्घटनामा गुमाएकी थिइन्।
‘श्रीमान श्रीमती दुवैजना आफैंले उडाएको जहाज दुर्घटनामा परेर अस्ताए,’ आइतबारको दुर्घटनामा ज्यान गुमाएकी कोपाइलट अञ्जुका एक सहकर्मीले भने, ‘दुवैको लेखान्त यस्तै रहेछ। अञ्जु साह्रै मिलनसार र सहयोगी थिइन्। हामीले अझै विश्वास गर्न सकिरहेका छैनौं।’
ती सहकर्मीका अनुसार सन् २००६ जुन महिनामा सुर्खेतबाट जुम्ला उडेको यती एयरलाइन्सकै १९ सिटे ट्वीनअटर जहाजमा अञ्जुका श्रीमान दीपक कोपाइलट थिए। त्यसबेला क्याप्टेन किरण मल्ल थिए।
‘आज आइतबार पोखरामा जसरी अञ्जुले उडाएको जहाज दुर्घटना भयो, १७ वर्षअघि जुम्लामा उनको श्रीमानले उडाएको जहाज पनि त्यस्तैगरी दुर्घटनामा परेको थियो,’ ती सहकर्मीले भने।
श्रीमानको मृत्युको शोकमा रहेकी अञ्जुले केही समयपछि मन बलियो बनाउँदै आफैं जहाज उडाउने अठोट लिएकी थिइन्। त्यसपछि उनी पाइलट तालिम लिन अमेरिका गएकी थिइन्।
तालिम सकेर फर्केपछि श्रीमानले नै काम गरेको यती एयरलाइन्समा गइन्। आफ्ना स्वर्गीय सहकर्मी पाइलटको श्रीमतीलाई यतीले खुसीसाथ कोपाइलट नियुक्त गरेको थियो। त्यसपछि उनले निरन्तर यतीको जहाज उडाइरहेकी थिइन्। अञ्जु मोरङ विराटनगरमा जन्मिएकी थिइन्।
भावीको लेखा कसैले टार्न सक्दैन...अलबिदा क्याप्टेन कमल र कोइपाइलट अञ्जु!