काठमाडौ । बीमा समितिले पूँजी वृद्धिको योजना ल्याएपछि बीमा कम्पनीको चुत्तापूँजी दोब्बर बढेको छ । हालसम्म ३९ कम्पनीको चुत्तापुँजी ७३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षमा बीमा कम्पनीहरुको चुत्तापूँजी ३८ अर्ब ६६ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा यस वर्ष बीमा कम्पनीहरुको चुँक्ता पूँजी ३५ अर्ब रुपैयाँ वृद्धि भएको समितिको तथ्याँकले देखाएको छ ।
समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीको २ अर्ब र निर्जीवन व्यवसाय गर्नेको १ अर्ब रुपैयाँ न्युनतम पुँजी तोकेको छ । कम्पनीहरुले धमाधम पुँजीवृद्धि गरिरहेकाले यो रकम अझ बढ्ने छ ।
समितिले २०७५ असार मसान्तसम्म सबै बीमा कम्पनीहरुलाई तोकिएको चुत्तापूँजी पुर्याउन निर्देशन दिएको थियो । संचालनमा रहेका १९ जीवन बीमा कम्पनी र २० निर्जीवन बीमा कम्पनीहरु छन । यी मध्ये ९ वटाले समितिले तोकेको पूँजी पुर्याएका छैनन् ।
जीवनतर्फ सूर्या लाइफ इन्स्योरेन्स,गुराँश लाइफ इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थान छन । नीर्जिवनतर्फ लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी लिमिटेड छन । यी कम्पनीहरुले न्युनतम पुँजी पुर्याउन हकप्रद र बोनस सेयर निष्कासन गरिरहेका छन ।
पूँजी पुर्याउन नसकेको भन्दै समितिले कम्पनीहरुसंग सपष्टीकरण पनि सोधेको थियो । कम्पनीहरुले बोनस सेयर, हकप्रद सेयर निष्काशन गरेर पूँजी पुर्याउन सक्ने जवाफ दिएका थिए । ती कम्पनीहरुले मागेको ३ महिना पूरा हुँदैछ ।
बाँकी रहेका बीमा कम्पनीहरुले पूँजी पुर्याउन लागेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । पूँजी पुर्याउन सकेनन् भनेर कारवाही गर्ने अवस्था नआएको पौडेलको भनाई छ ।
१४ कम्पनीले आईपीओ निष्कासन गरेर पुर्याउँदै
यस्तै जीवन र निर्जीवन गरी १३ ओटा बीमा कम्पनीहरुले साधारण सेयर (आईपीओ) निष्कासन गरेर न्युनतम पुँजी पुर्याउने भएका छन । आईपीओ ल्याउने मध्ये १० ओटा जीवन, ३ ओटा निर्जीवन कम्पनी छन । यी कम्पनीले ७ अर्ब १८ करोड रुपैयाँ बराबरको ८ करोड १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
जीवन बीमा व्यवसाय गर्ने १० कम्पनीले ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता र निर्जीवनतर्फ ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता रहेको छ । सबै बीमा कम्पनीको साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेका छन ।
आईपीओ निष्कासनको तयारीमा सिटिजन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन ।
यस्तै आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छन । निर्जीवन तर्फ अजोड इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड छन ।