काठमाडौं। कर्णाली प्रदेशमा ३ दशमलव ७५ प्रतिशतले कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ।
नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन २०७८/०७९ को वार्षिक प्रतिवेदनमा कृषि उपज (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) ले ढाकेको क्षेत्रफलमा ह्रास आई २ लाख ३३ हजार २८ हेक्टरमा झरेको हो।
यस वर्षमा धान बालीले ढाकेको क्षेत्रफल ११.४८ प्रतिशतले घटेको छ। त्यस्तै, मकै, गहुँ र जौ बालीले ढाकेको क्षेत्रफल समीक्षा वर्षमा क्रमशः ८.६५ प्रतिशत, ५.७८ प्रतिशत र ०.३६ प्रतिशतले घटेको छ।
कोदो बालीले ढाकेकोक्षेत्रफल ५.८१ प्रतिशत र फापर बालीले ४९.५३ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, भट्मास र दलहन बालीलेढाकेको क्षेत्रफल क्रमशः २.०८ प्रतिशत, र १२.७७ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा वर्षमा कर्णाली प्रदेशमा तरकारी तथा वागवानी बालीले ढाकेको क्षेत्रफल क्रमशः ७ प्रतिशत र १९.०३ प्रतिशतल वृद्धि भएको छ। मकै, जौ, बागवानी, आँप, मसला आदिको उत्पादनमा वृद्धि भएको कारण यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन २३.८० प्रतिशतले वृद्धि भएको छ।
खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषिबालीमा धान बालीको उत्पादन २१.५० प्रतिशतले घटेको छ भने मकै उत्पादन २.०१ प्रतिशतले बढेको छ ।
यस प्रदेशमा दूध उत्पादन ७.३८ प्रतिशतले बढेको छ। त्यस्तै, माछा उत्पादन ५१.३६ प्रतिशत, मासु र अण्डा उत्पादन क्रमशः १६.८४ र ५.१२ प्रतिशतले घटेको छ।
२०७९ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्ष सोही वर्षको तुलनामा २६.१७ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड ३९ लाख पुगेको छ।
२०७८/७९ अनुसार कर्णाली प्रदेशमा जम्मा ३ हजार ५ सय २६ वटा कम्पनी दर्ता भएका छन्। त्यस्तै, कर्णाली प्रदेशमा संचालनमा आएका लघु, घरेलु तथा साना उद्योगहरुको संख्या २९ हजार २ सय ४८ पुगेको छ।
यस प्रदेशमा भारत, चीन लगायत तेस्रो मुलुकबाट यस प्रदेशमा भित्रिने पर्यटकको संख्या क्रमशः ५६.७७ प्रतिशत, ५५.३५ प्रतिशत र १४१.७२ प्रतिशतले वृद्धि भएको छ।
केही वर्ष यता कोभिड–१९ लगायत अन्य कारणले कर्णाली प्रदेशमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या शून्यप्राय रहेकोमा हालको वर्षमा तेस्रो देशबाट पनि पर्यटक आउन थालेको कारण सो संख्याको वृद्धि भएको हो।
समीक्षा वर्षमा यस प्रदेशमा दर्ता भएका कुल सवारी साधनको संख्या ८.०३ प्रतिशतले वृद्धि भई २० हजार ९ सय १५ पुगेको छ।
२०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तसम्ममा थप ४९ वटा शाखा विस्तार भई कर्णाली प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ४५५ पुगेको छ।
पूृर्वाधार क्षेत्र कर्णाली प्रदेशमा कच्ची तथा पक्की सडक गरी करीब १,४४१.१९ कि.मि. सडक सञ्जाल रहेको छ।