एजेन्सी। विश्वका हजारौं ठूला बाँध बालुवाले भरिन थालेका छन्। सञ्चालनमा रहेका अधिकांश बाँध सन् २०५० सम्ममा आफ्नो भण्डारण क्षमताको एक चौथाइभन्दा बढी क्षमता गुमाउने खतरा रहेको संयुक्त राष्ट्र संघका शोधकर्ताहरूले निष्कर्ष निकालेका छन्। यसले गर्दा पानी र ऊर्जा सुरक्षामा खतराको घन्टी बज्ने चेतावनी उनीहरूले दिएका छन्।
राष्ट्र संघको पानी, वातावरण र स्वास्थ्य संस्थाको नयाँ अध्ययनले यो शताब्दी मध्यसम्ममा बाँध र जलाशयहरूले लगभग १.६५ ट्रिलियन घनमिटर पानी भण्डारण क्षमता गुमाउने देखाएको छ। यो आँकडा भारत, चीन, इन्डोनेसिया, फ्रान्स र क्यानडाको संयुक्त वार्षिक पानी प्रयोगको नजिक छ।
‘यो महत्वपूर्ण रहेको अनुसन्धानकर्ताहरू भन्छन् किनभने यी ठूला बाँध विश्वभरि जलविद्युत, बाढी नियन्त्रण, सिँचाइ र पिउने पानीका प्रमुख स्रोत हुन्,’ अध्ययनका सहलेखक र संस्थाका निर्देशक भ्लादिमिर स्माख्टिनले भने, ‘विश्वव्यापी पानी भण्डारण घट्दै गइरहेको छ। यो अहिले घट्दैछ र यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ।’
अन्वेषकहरूले १ सय ५० देशमा लगभग ५० हजार ठूला बाँध हेरेर तिनीहरूले पहिले नै लगभग १६ प्रतिशत पानी भण्डारण क्षमता गुमाइसकेको पत्ता लगाएका हुन्। उनीहरूको अनुमानअनुसार यदि निर्माण दर समान गतिमा जारी रहे यो शताब्दीको मध्यमा लगभग २६ प्रतिशतमा बढ्ने छ।
‘नदीले प्राकृतिकरूपमा ल्याउने बालुवा सिमसार र तटमा जम्मा हुने र यसले बाँध र पानी प्रवाहलाई बाधा पुर्याउने देखिएको छ। लेदोे जमेर निर्माण हुने संरचनाले बिस्तारै पानीका लागि ठाउँ कम गर्छ,’ स्माख्टिनले भने, ‘यसले धेरैका लागि भविष्यको पानी आपूर्तिको दिगोपन खतरामा पार्छ भने सिँचाइ र ऊर्जा उत्पादनमा जोखिम खडा गर्छ।’
बालुवा सञ्चयले माथिल्लो भागमा बाढी आउन सक्छ र वन्यजन्तुको बासस्थान र तटीय जनसंख्यालाई तल्लो तटसम्म असर गर्न सक्छ। ‘सेडिमेन्टेसन’ एउटा ठूलो मुद्दाको भाग हो। २०५० सम्म दसौं हजार ठूला बाँध आफ्नो इच्छित आयुको नजिक पुगेका छन्।
विश्वका ६० हजार ठूला बाँध (१९३० देखि १९७०) को बीचमा निर्माण गरिएका हुन्। ती बाँध ५० देखि १ सय वर्षसम्मका लागि डिजाइन गरिएका थिए। त्यसपछि ती बाँधले काम नगर्ने जोखिम हुनसक्छ। जसले विश्वको आधाभन्दा बढी जनसंंख्यालाई असर गर्छ, जो तल्लो तटीय क्षेत्रमा बस्छन्।
ठूला बाँध र जलाशयलाई १५ मिटर (४९ फिट) भन्दा माथि वा कम्तीमा पाँच मिटर उचाइका रूपमा परिभाषित गरिएको छ। जबकि, तीन घनमिटरभन्दा कम पानी ‘होल्ड’ गर्दैन। बाढी र खडेरीजस्ता जलवायु परिवर्तन उच्च दरमा बढ्ने र तीव्र वर्षाले बढी क्षय हुने स्माख्टिनले बताए।
यसले जलाशयहरू ‘ओभरफ्लो’ हुने जोखिमको मात्रा बढाउँदैन तर सेडिमेन्टा निर्माणलाई पनि गति दिन्छ, जसले बाँधको सुरक्षामा असर गर्छ। पानी भण्डारण क्षमता घटाउँछ र जलविद्युत बाँधमा ऊर्जा उत्पादन घटाउँछ। पुरानो बाँध र जलाशय सेडिमेन्टेसनको बढ्दो चुनौती सम्बोधन गर्न अध्ययन लेखकहरूले धेरै उपाय सूचीबद्ध गरेका छन्।