काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ। महासंघले चैत्र २ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकटीमण्डपमा व्यापार मेला आयोजना गर्ने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।
मेलामा कूल ३ सय भन्दा बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने जनाइएको छ। मेलामा नेपालसहित सार्क मुलुक, चीन, थाइल्यान्ड, म्यानमारलगायतका देशको सहभागिता रहने महासंघले जनाएको छ। साथै सार्क राष्ट्रसहित चीन, कोरिया, जापानलगायतका देशबाट क्रेताहरू आउने अपेक्षा महासंघको छ।
यस वर्षको मेलामा महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरूका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी हुने महासंघको भनाइ छ। नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकला उत्पादन, एआइटीएस र मेड इन नेपाल प्रोडक्टस रहने छन्। मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकार्तासँग प्रत्यक्ष अन्तरक्रिया गराइने महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए।
‘मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन्,’ अध्यक्ष गोल्छाले भने ‘मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षिय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफलसमेत हुनेछ।’
उनले यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिव ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको जानकारी दिए। विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुबाट छानिएका उत्कृष्ट स्टल तथा उत्पादनलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराईने उनको भनाइ छ।
पत्रकार सम्मेलनमा व्यापार मेला समितिका अध्यक्ष नरेन्द्र खड्काले व्यापार मेलाले उत्पादीत वस्तुहरुको बजारीकरण गर्न मद्दत गर्ने जानकारी दिए। हालसम्म मेलाहरु परम्पारगत रुपमा रहेको भन्दै उनले यसलाई आधुनिक बनाउन आवश्यक रहेको प्रतिक्रिया दिए। उनकाअनुसार मेलाका लागि आजैबाट स्टल बुकिङ खुल्ला गरिएको छ।
मेलामा साना तथा मझौला उद्योगलाई लागि ४० हजारदेखि ५० हजारसम्म मूल्यमा स्टल उपलब्ध गराइने छ। मेला भ्रमण गर्नचाहनेका लागि एक सय रूपैयाँ टिकटको व्यवस्था गरिएको छ भने विद्याथीहरुका लागि ३० रुपैयाँ निर्धारण गरिएको छ।