काठमाडौं। नेपालमै पहिलो पटक बनाउन लागिएको ग्वार्को फ्लाइ ओभरको डिजाइन परिवर्तन हुने भएको छ। सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख नविनमान श्रेष्ठले फ्लाइ ओभरको स्ट्रक्चरल डिजाइनमा समस्या देखिएकाले सुधार गर्नुपर्ने बताए।
‘निर्माण कम्पनीले बनाएको डिजाइनमा सामान्य सुधार गर्नुपर्ने देखिएको हो, एक हप्तामा सकिएर माघको दोस्रो हप्ताबाट फिल्डमा देखिने गरी काम सुरु हुने सम्भावना छ’ प्रमुख श्रेष्ठले भने, ‘पुल सम्बन्धी विज्ञलाई डिजाइन देखाउँदा परिवर्तन गर्नुपर्ने देखिएको हो। यो विषयमा बिहीबार परामर्शदातासँग पनि छलफल भइरहेको छ, सुझावअनुसार अगाडि बढ्छौं।’
डिजाइन परिवर्त भए पनि लागत, लम्बाइ, निर्माण अवधिमा कुनै परिवर्तन नहुने केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडीई) सौरभ बज्राचार्य बताउँछन्।
सिडिई बज्राचार्यका अनुसार फ्लाइओभर निर्माण गर्ने जगमा परिवर्तन गर्नुपर्ने भएको हो। जसका कारण डिजाइन परिवर्तनका लागि धेरै समय लाग्दैन। साथै लागत बढे पनि निर्माण व्यवसायी स्वयमले खर्च व्योहर्ने छ। विकास केन्द्रले सम्झौताभन्दा बढी रकम नदिने उनको भनाइ छ।
फ्लाइ ओभर इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्न विकास केन्द्रले २०७८ साउनमा ठेक्का आह्वान गरेको थियो। साउनमा आह्वान भएको ठेक्काको सम्झौता भने २०७८ को माघमा भएको थियो।
विकास केन्द्रले १७ करोड ६ लाख रुपैयाँमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग २ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ।
निर्माण कम्पनीहरूले २०७८ फागुनबाट फ्लाइ ओभरको डिजाइन सुरू गरेको थियो। ठेक्का सम्झौता भएको मितिबाट २ वर्षभित्र फ्लाइ ओभरको निर्माण कार्य सम्पन्न गर्नुपर्ने विकास केन्द्रले जनाएको छ। जसमध्ये डिजाइन र आवश्यक तयारी गर्दा १० महिना समय सकिएको छ।
अब बाँकी रहेको १४ महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने विकास केन्द्र प्रमुख श्रेष्ठ बताउँछन्। केन्द्रले दिएको डिजाइनभन्दा निर्माण कम्पनीले तयार गरेको डिजाइनमा फ्लाइ ओभरको लम्बाइ बढेर ५०५ मिटर हुने बताइएको छ। त्यस्तै उचाइ ६ मिटर हुने विकास केन्द्रले जनाएको छ।
१ महिना पहिलाबाट फ्लाइ ओभर निर्माणका लागि भन्दै ललितपुरको ग्वार्को भएर ओहोर दोहोर गर्ने सवारीलाई ट्राफिक प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको थियो। तर, डिजाइन पविर्तन गर्नुपर्ने भएपछि सवारी साधन साबिकको जसरी सञ्चालन भइरहेका छन्। डिजाइनमा सुधार भएर निर्माण सुरू भएपछि सवारी साधनलाई फेरि व्यवस्थित गर्नुपर्ने हुन्छ।
चक्रपथको कोटेश्वर–कलंकी खण्डमा विस्तार गरेर ८ लेन बनाइएको छ। जसमध्ये बीचको ४ लेनको सडकमा फ्लाइ ओभरबाट चक्रपथमा गुड्ने सवारी चल्नेछन् भने फ्लाइ ओभर मुनिबाट मंगलबजार–इमाडोल–मंगलबजार चल्ने सवारीले आवतजावत गर्नुपर्ने हुन्छ।